सुर्खेत– कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
छाउपडी उन्मूलनका क्षेत्रमा काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार ‘छुई’ अर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन्।
कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सन बक्र्स नेपालले अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दाजान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरी छाउगोठमै बस्न बाध्य भएको संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिए।
उनका अनुसार अध्ययनले महिनावारी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने डरले किशोरी अझै पनि छाउगोठमै बस्न बाध्य भएको तथ्याङ्क देखाउँछ।
सार्वजनिक भएको तथ्याङ्कअनुसार कक्षा ६ देखि १२ सम्मका समूहका महिलाले नै छाउगोठमा बस्ने गरेका हुन्। महिनावारी भएको समयमा ८५ प्रतिशत महिला दिदीबहिनीेले दहीदूध खान नपाउने तथा ९१ प्रतिशत महिलाले भान्सामा प्रवेश नपाउने अध्ययनले देखाएको जिसीले बताए।
५३ प्रतिशत महिलाले धार्मिक तथा सांस्कृतिक कारणले छाउ बार्ने गरेका छन्। छाउपडी प्रथा उन्मूलनका लागि विभिन्न गैरसरकारी निकायले विभिन्न समयमा गरेको जनचेतनामूलक कार्यक्रमसमेत प्रभावकारी देखिएको छैन।
कर्णालीका ६० प्रतिशत महिलालाई सरकारी नीति नै थाहा नभएको तथ्याङ्कमा उल्लेख गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।