इटहरी– तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच केन्द्रीय तहमा पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको लामो समय भइसकेको छ। तर क्षेत्रीय, जिल्ला तथा स्थानीय र जनवर्गीय संगठनहरुमा एकताको विषयले मूर्त रुप पाउनसकेको छैन।
पार्टी केन्द्रीय तहबाट बिहीबारसम्म सबै तहको एकता प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएपनि धेरै स्थानमा पूरा हुन सकेको छैन। यद्यपी एकता प्रक्रियालाई लिएर स्थानीय तहसम्मै रौनक चुलिएको छ।
प्रदेश १ को सुनसरी जिल्ला कमिटीको लागि नाम सिफारिस गर्न एक कार्यदल बनेको छ। रामकुमारी चौधरी, सारदा पोख्रेल, धर्म निरौला र रमेश बस्नेत सम्मिलित नाम सिफारिस कार्यदलले नामावली टुंगो लगाइसकेको छ। सो समितिले पूर्व एमालेको तर्फबाट ९९ र माओवादी केन्द्रको तर्फबाट ६६ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गर्ने अन्तिम तयारी थालेको छ।
सिफारिस भएका मध्येबाट आगामी नेतृत्व चयन हुने समितिकी सदस्य चौधरीले जानकारी दिइन्। उनका अनुसार तत्कालीन एमाले र माकेका सम्पुर्ण कमिटी खारेज भइसकेको अवस्थामा हाल सिफारिस भएकामध्ये जो कोहीले पनि नेतृत्व दाबी गर्नसक्ने छन्।
पूर्व एमालेको तर्फबाट पूर्व सांसदसमेत रहिसकेका रेवतीरमण भण्डारी र पूर्व जिल्ला अध्यक्ष रमेश बस्नेतले जिल्ला नेतृत्वको दाबी गरिरहेका छन्। उता पूर्व माकेको तर्फबाट पूर्व केन्द्रीय सदस्य शिवकुमार डाँगी बलिया दाबेदार मानिएका छन्। हालका प्रदेशसभा सदस्य मुकेश मेन्याङ्बोले पनि नेतृत्वको दाबी गरिरहेको बताइएको छ।
जिल्ला नेतृत्वका लागि सबै दाबेदारहरुले आ–आफ्नो तर्फबाट ‘लविङ’ सुरु गरेका छन्। भण्डारी मुख्यमन्त्री शेरधन राइ निकट मानिन्छन्। राईले पनि उनलाई खुलेर समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
तर उनको तगारोको रुपमा देखिएका छन् प्रदेश इन्चार्ज भिम आचार्य। नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका आचार्य सुनसरीलाई आफ्नो पकडमा राख्न चाहन्छन्। सोही अनुसार उनले बस्नेतलाई अगाडि सारेका छन्। बस्नेत र भण्डारी दुबै एमालेका पूर्व जिल्ला अध्यक्षसमेत हुन्। पहिला माधव नेपाल निकट मानिएका भण्डारी हाल ओली पक्षधर हुन्।
त्यस्तै, पूर्व माकेले पनि प्रदेश १ का मुख्य जिल्ला झापा, मोरङ र धनकुटामा नेतृत्व नपाएको भन्दै सुनसरीमा दाबी गरेको छ। सोही अनुसार माकेका पूर्व केन्द्रीय सदस्य डाँगी आफू नेतृत्वमा आउने संभावना धेरै रहेको दाबी गर्छन्। मेन्याङ्बो प्रदेशसभा सदस्यको भूमिकामा रहेकोले आफू नै सुनसरीको अध्यक्ष हुने उनको भनाइ छ। डाँगी अहिले केन्द्रीय पार्टीपंक्तिलाई रिझाउन काठमाडौं पुगेका छन्।
त्यस्तै अर्का दाबेदार मेन्याङ्गबो पार्टीभित्र आन्तरिक कसरतमा लागेका छन्। उनी आफूलाइ स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्मको साथ रहेकोले अध्यक्ष बन्ने पक्कापक्की रहेको दाबी गर्छन्।
पार्टीगत हिसाबकिताब मिलाउँदा अध्यक्ष एक पार्टीले पाएमा इन्चार्ज अर्को पार्टीका नेताले पाउनसक्ने नेकपा नेता डम्बर सुवेदीले बताए। कुन पार्टीले के पाउने भन्ने बारेमा छलफल जारी रहेकाले आजभोलि नै त्यसको टुंगो लाग्ने उनको भनाइ छ। उनका अनुसार जिल्लाको कार्यदलले आजै प्रदेश र केन्द्रमा नाम सिफारिस गर्ने र भोलिबाट प्रदेशले सहमतिको प्रयास थाल्नेछ। यदि प्रदेशले एकसाता भित्र सहमति गर्न सकेन भने केन्द्रले नेतृत्व चयन गर्नेछ।
प्रदेश १ का १४ जिल्लामध्ये ७ जिल्लाको नेतृत्व टुंगो लागिसकेको र बाँकी ७ जिल्लाको प्रक्रियामा रहेको नेता सुवेदीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।