रसुवा- एक सातादेखि अवरुद्ध धुन्चे-स्याफ्रु सडकखण्ड अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन। गत शुक्रबार अविरल वर्षासँगै सदरमुकाम धुन्चे नजिकै खोपाङ भीरमा सडकको दायाबायाँ पहिरो पहिरो गई सडक भासिएको थियो।
सम्बन्धित निकायको बेवास्ताका कारण यात्रुहरुले सास्ती बेहोर्नुका साथै बढी मूल्य तिरेर सामान ढुवानी गर्न बाध्य भएको व्यापारीहरुले बताएका छन्। भासिएको सडक मर्मत नहुँदा रसुवाको उत्तरी भेगका बासिन्दा, मानसरोवर जाने तीर्थयात्री लगायत चिनियाँ पर्यटकहरु मर्कामा परेका छन्।
उता केरुङबाट बल्लतल्ल ल्याएको स्याउ रसुवागढीमा पल्टी गर्दा बढी पैसा तिर्नुपर्ने र सामान समेत बिग्रने गरेको व्यापारी बताउँछन्। धुन्चेदेखि रसुवागढीसम्म पुग्नका लागि तीन स्थानमा सवारीसाधन परिवर्तन गर्नुपरेपछि निकै समस्या भएको मानसरोवर जाने यात्रुहरुको भनाइ छ।
सडक बिग्रिएकै कारण समयमै गन्तव्यमा नपुग्ने त छँदैछ जोखिम मोलेर भए पनि गुड्ने साधनमा दोब्बर भाडा तिनुपर्ने बाध्यता छ।
तीज, दसैं र तिहारका लागि चीनबाट आयात गरिएका करोडौं मूल्यका सामान केरुङमा रोकिएका छन्।
शुक्रबारदेखि सडक मर्मत सुरु हुने भनिए पनि सुरु हुन सकेको छैन। डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यका अनुसार सडक खण्डको खोपाङभीरमा ब्लाष्टिङ गर्नुपर्ने भएको हुँदा अहिले होल खोप्ने काम सुरु भएको छ। 'सडकमुनि पहिरो गएकाले उक्त स्थानमा तत्काल तार जाली लगाउने अवस्था छैन। सडकको कुनाबाट नयाँ ट्रयाक खोल्नुपर्ने हुन्छ,' उनले भने, 'अहिले करिब १५ वटा होल खोप्ने काम सकिएको छ। शनिबारदेखि ब्लाष्टिङ सुरु हुन्छ।'
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले क्षतिग्रस्त सडक मर्मत गर्ने भएका छन्। सामग्री खरिदका लागि सेनासँग पर्याप्त रकम नभएका कारण सडक सुचारु गर्न ढिलाइ भएको बताइएको छ। सडक सुचारु गर्न करिब २३ करोड लाग्ने अनुमान गरिएको छ।
भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ।
२०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।