महेन्द्रनगर- विगत तीनदेखि तनावग्रस्त कञ्चनपुरस्थित महेन्द्रनगरको अवस्था सामान्य बन्दै गएको छ।
१३ वर्षीया बालिका निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी दोषी उम्काउन खोजेको भन्दै तीन दिनदेखि गरिएको विरोधले तनावग्रस्त महेन्द्रनगरकाे अवस्था शुक्रबार बिहानदेखि समान्य बन्दै गएको हाे। गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी(सीडियो), एसपी र डिएसपीलाई पदबाट हटाएपछि अवस्था केही समान्य बनेको हो।
व्यवसाय नै ठप्प पारेर आन्दोलनमा उत्रिएका व्यापारीले बिहानैदेखि पसल खोलेका छन्। तर, जिल्लाका अन्य शहरमा भने स्थानीयले प्रदर्शन जारी राखेका छन्। वेदकोट नगरपालिकाको लालपुर बजार, बेल्डाँडी गाँउपालिकाको बेल्डाँडी बजार लगायतका स्थानमा स्थानीयले नाराबाजी गर्दै टायर जलाएर प्रदर्शन गरिररहेका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गड्डाचौकी–गुलेरिया सडक खण्डमा पनि प्रदर्शन भइरहेको छ।
प्रहरी दमनको विरोधमा विद्यालय बन्द
यस्तै, शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको विरुद्ध जिल्लामा एक दिनका लागि विद्यायल बन्द गरिएको छ। निर्मला पन्तको हत्या प्रकरणमा भैरहेको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याब्सन, एनप्याब्सनले आजका जिल्लाभरका निजी तथा संस्थागत विद्यालय बन्दको घोषणा गरेका हुन्।
घाइतेलाई काठमाडौं पठाइयो
बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका थिए।
घाइतेमध्ये सन्तोष कुमार कठरियाको हाल महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
यस्तै गोली लागेर घाइते भएका अर्जुन भण्डारी र तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो। अर्जुनको कोहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ।
भिमदत्त नगरपालिका–२ बस्ने १३ वर्षीय निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। हत्याको २४औं दिनमा प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। तर, पीडितका परिवार र आफन्तले भने अभियुक्त ‘नक्कली’ भएको भन्दै प्रहरी र उसको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शनमा उत्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।