काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को रिहाई माग गर्दे सर्वाेच्च अदालतमा फेरि बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ।
प्रकाण्डका छोरा विरेन्द्र विश्वकर्माले शुक्रवार तेस्रो पटक निवेदन दर्ता गरेका हुन् ।
प्रकाण्डलाई दुई पटक सर्वोच्चले रिहा गर्न आदेश दिइसकेको छ। तर, प्रहरीले अदालतवाट बाहिरिए लगत्तै पक्राउ गरेको थियो।
विहीबार मात्र सर्वोच्चले उनलाई पक्राउ गर्दा हालै लागू भएको मुलुकी संहिताका व्यवस्थाहरु ख्याल गर्न नेपाल प्रहरी र सरकारलाई आग्रह गरेको थियो । मुलुकी फौजदारी संहिताको कानुनी व्यवस्था समेत पालना गरि उचित कारण र आधार विना पक्राउ गर्ने कार्य नर्गन समेत प्रहरीलाई सर्वोच्चको आदेशमा भनेको थियो । तर, अदालतको आदेशले रिहा भएर बाहिर निस्कने वितिक्कै पक्राउ गरेर अदालतको आदेशलाई समेत उल्लंघन गरेको दावी निवेदनमा गरिएको छ । मुलुकी फौजदारी संहिता लागू भएको दिनमा उनलाई अदालतले गैरकानुनी पक्राउ गरेको भनि आदेश जारी गरेको अवस्था पुन सोही कार्य गरेको भन्दै मुलुकी संहिताको व्यवस्था ख्याल गर्न आदेश गरेको थियो । पहिलो पटक भदौ १ गते उनी पक्राउ परि रिहा भएका थिए ।
न्यायाधीशद्धय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई बन्दीप्रत्यक्षीकरणको निवेदनमा फैसला गर्दै रिहा गर्न आदेश गरेको थियो ।
क्रसरमा आगजनी गरेको अभियोगमा काभ्रे सदरमुकाम धुलिखेल प्रहरीले उनलाई हिरासतमा राखेको थियो । हाल उनी स्काभेटरमा आगजनी गरेको मुद्दामा नुवाकोट प्रहरीको हिरासतमा छन्।
भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो । प्रकाण्डलाई गैरकानूनी रुपमा राज्यले गिरफ्तार गरेको र गैरन्यायिक तरिकाले थुनामा राखिएको भन्दै विरेन्द्र विकले रिहाईको मागसहित आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।
साउन २२ गते काठमाडौंको चोभारबाट काठमाडौं प्रहरीको टोलीले उनलाई गिरफ्तार गरेको थियो । लगत्तै प्रकाण्डका छोरा नरेन्द्रबहादुर विक सर्वोच्चमा निवेदन दर्ता गरेपछि उनलाई रिहा गर्न आदेश भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।