काठमाडौं– मुलुकमा वैदेशिक लगानीको प्रतिवद्धता ४० अर्ब ५२ करोड रुपैयाँले बढेको छ। आर्थिक वर्ष (आव) २०७३/०७४ को तुलनामा आव २०७४०७५ मा वैदेशिक लगानी प्रतिबद्धता २ सय ६६ दशमलब ४९ प्रतिशतले बढेको हो।
उद्योग विभागको तथ्यांक अनुसार आव २०७४/०७५ मा ५५ अर्ब ६४ करोड ५६ लाख रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। आव २०७३/०७४ मा यस्तो प्रतिबद्धता १५ अर्ब २० करोड ६४ लाख रुपैयाँ मात्र थियो।
चालु आव २०७५/०७६ को पहिलो महिनामा मात्रै २ अर्ब ८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले बताए। एक महिनाको अवधिको अवस्थालाई हेर्ने हो भने दुई छिमेकी मुलुक भारत र चीनबीचमै होडबाजी देखिन्छ। जसमध्ये पनि सबैभन्दा धेरै भारतबाट ७३ करोड रुपैयाँभन्दा बढीको लगानी गर्ने प्रतिबद्धता गरिएको छ। त्यस्तै चीनबाट ६८ करोड रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको विभागले जनाएको छ।
आव २०६९/०७० देखि चालु आवको साउन मसान्तसम्ममा १ खर्ब ९५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ। यस अवधिमा सबैभन्दा धेरै आव ०७१/०७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता भित्रिएको थियो। यो वर्ष जलविद्युत्, सिमेन्ट उद्योगलगायतका ठूला परियोजनामा लगानी बढ्दा प्रतिबद्धता रकममा उल्लेख्य वृद्धि भएको भुसालले जानकारी दिए।
मुलुकमा ६ वर्षको अवधिमा भित्रिएको लगानी प्रतिवद्धतालाई हेर्ने हो भने चीन सबैभन्दा अघि छ। उद्योग विभागका अनुसार चीनले हालसम्म १ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता जनाएको छ।
लगानी प्रतिबद्धता कुन आवमा कति?
सबैभन्दा धेरै लगानी प्रतिबद्धता उर्जा क्षेत्रमा
आव २०७४/०७५ मा सबैभन्दा धेरै लगानी गर्ने प्रतिबद्धता उर्जा क्षेत्रमा आएको छ। यस क्षेत्रमा ३६ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आएको विभागले जनाएको छ।
त्यसैगरी, उत्पादनमूलक उद्योगमा ६ अर्ब ७६ करोड, पर्यटन क्षेत्रमा ४ अर्ब १२ करोड ३३ लाख, खनिज उद्योगमा ३ अर्ब ८० करोड, सेवामा २ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आएको छ। यता सबैभन्दा थोरै सूचना प्रविधिको क्षेत्रमा ५३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।
कुन क्षेत्रमा कति लगानी प्रतिबद्धता?
चीनको लगानी ४२७ प्रतिशतले बढ्यो
आव २०७४/०७५ मा चिनियाँ लगानी अघिल्लो आव २०७३/०७४ को भन्दा ४ सय २७ दशमलब ७१ प्रतिशतले बढेको छ। यस अवधिमा चीनले ४७ अर्ब १६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
आव २०६९/०७० देखि हालसम्म चीनले १ खर्ब २ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ।
यता भरतले आव २०७४/०७५ मा ५ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको लगानी प्रतिबद्धता जनाएको छ। पछिल्लो ६ वर्षको अवधिमा भारतले ५३ अर्ब ८३ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ।
नेपालमा लगानी गर्न अमेरिका, इटाली, बङ्गलादेश, उत्तरकोरियालगायतका देश पनि आकर्षित हुन थालेको उद्योग विभागले जनाएको छ।
६ वर्षमा चीन, भारत र जापानको लगानी प्रतिबद्धता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।