काठमाडौं– सरकारले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई पनि कडा कारबाही गर्नेगरी बजार अनुगमनको कामलाई तीव्रता दिइएको बताएका हुन्। उनले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कारबाही हुने गरी उपभोक्ता संरक्षण ऐन संशोधन विधेयक, २०७५ संसदमा पेस गरिएको पनि जानकारी दिए।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले दशैं, तिहार जस्ता चाडबाड आएकाले उपभोक्तालाई मारमा पार्न नदिन सरकारले बजार अनुगमनको कामलाई अभियानको रुपमा अघि बढाएको उल्लेख गरे। सो कार्यमा साथ दिन सञ्चारकर्मीहरुसँग पटक–पटक आग्रह पनि गरे। उनले बजार अनुगमनको कामलाई परिणाममुखी बनाउन आफूले गृह र कृषि मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको पनि जानकारी दिए।
मन्त्रालयले वीरगंजस्थित प्रोबायोटिक उद्योग प्रालिले गुणस्तरहिन खाने तेल उत्पादन गरेको पाइएपछि कारबाही प्रक्रिया सुरु गरिएको पनि स्पष्ट पारेको छ। मन्त्री यादवले निरीक्षण गरेको सो उद्योगमा उत्पादित सनफ्लावर तेल, भटमासको तेल र सुर्यमुखी तेलमा अखाद्य वस्तु भेटिएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको हो।
मन्त्री यादवले कालिमाटी फलफूल तथा तरकारी बजार भित्रका अवैद्य गतिविधि नियन्त्रणका लागि छानबिनको काम सुरु गरिएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।