महेन्द्रनगर– गत साउन १० गते भिमदत्त नगरपालिका वडा नं २ बस्ने १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो। हत्याको २४ औं दिनमा प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्यो। तर, पीडितका परिवार र आफन्तले भने अभियुक्त ‘नक्कली’ भएको भन्दै प्रहरी र उसको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्टि जनाए।
प्रक्राउ परेको व्यक्तिको मानसिक अवस्था ठिक नभएको र स्थानीयले शंका गरेको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याइएको आरोप पीडितका परिवार र आफन्तको छ। हत्याको २७ औँ दिन पुग्दासमेत प्रहरी प्रशासनले अभियुक्तबारे ठोस प्रमाण दर्ज गर्न नसकेको आरोप स्थानीयको छ।
आक्रोसित स्थानिय आन्दोलनमा उत्रिरहेका छन्। स्थानियको प्रदर्शनलाई रोक्न प्रहरीले पटक पटक अश्रूग्यास प्रयोग गरिरहेको छ। घटनाको सत्य तथ्य छानबीन भएर दोषीलाई कडा कारबाही नगरेसम्म आन्दोलन नरोक्ने आन्दोलनकारीहरूको अडान छ । विगत केहीदिन यता एसपी र प्रमुख जिल्ला अधिकारीसँग आक्रोसित बनेका स्थानिले उनीहरूको राजीनामा माग राख्दै आएका छन्।
कञ्चनपुरमा बिहीबार भएको प्रर्दशनमा प्रहरीको अश्रग्याँश र गोली प्रहारमा ८ जनाभन्दा बढी स्थानीय घाइते भएका छन्। र, साँझ कञ्चनपुर जिल्ला प्रशासनले महेन्द्रनगरमा कर्फ्यू जारी गरेको छ।
यसैबीच, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्।
स्थानीयहरुले उच्च स्तरीय छानबिनको माग गरेपछि गृहले समिति गठन भएको हो।
त्यसैगरी, स्थानीयवासीको आक्रोष र आन्दोलनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पनि सरुवा गरिएको छ। स्थानीय असन्तुष्टि सम्बोधन गर्न सरकारले चालेका पछिल्ला कदम कत्तिको सार्थक होलान् यसै भन्न भने सकिन्न। यद्यपी किशोरी बलात्कार र हत्याको घटना र यसको अनुसन्धानको तरिकाप्रति कञ्चनपुरवासी भने अझै आक्रोषित नै छन्।
कसरी भयो यस्तो विभत्स हत्या ?
निर्मला पन्त गाउँको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्थिन्। निर्मलाको आमा दुर्गा पन्त भने चटपटेको व्यापार गर्छिन्। घटनाका दिन निर्मलाकी आमाले बिहान छिट्टै खाना पकाएर छोरीहरूलाई कतै नजानु भनेर बजारमा चटपटेका लागि सामान किन्न निस्किएकी थिएन्। आमा बजार गएपछि निर्मला बहिनीसँग घरमै बसेकी थिइन्। करिब ११ बजेतिर निर्मलाको घरमा उनको साथी रोशनी बम आइन्। रोशनी आएपछि गृहकार्य गर्न भनेर निर्मलालाई उनले आफ्नो घर जान आग्रह गरिन्। उनीहरू एउटै कक्षामा पढ्ने साथी थिए। साथीले जाउँ भनेर कर गरेपछि उनी रोशनीसँग गइन्।
निर्मलाकी आमा दिउँसो १ बजे घर आइपुग्दा निर्मला घरमा थिइनन् ।
निर्मला रोशनीको घरमा जाने क्रममा साथी रोशनीको बारीमा गएर अम्बा पनि खाएका थिए। त्यसपछि ती दुबै रोशनीको घरमा गए। यता निर्मलाको आमा ३ बजेसम्म छोरी नआइसकेपछि अत्तालिन थालिन्। ‘गाउँमा कतै गयो भनेपनि २ घण्टा बढी छोरी कतै बस्दिन थिई ’आमा दुर्गाले भनिन्।
छोरी घर नआएपछि दुर्गा रोशनीको घरमा गइन्। रोशनीको घरमा जाँदा त्यतिबेला ५ बजेको थियो। तर रोशनीले निर्मला २ घण्टा अगाडी नै त्यहाँबाट गइसकेको बताइन्। दुर्गालाई विश्वास लागेन। छोरी त्यहीँभित्र होली भन्ने अनुमान गरेर पुनः छोरीलाई बोलाइन्। तर रोशनको दिदीले दुर्गालाई गाली गरेर पठाइन्। त्यतिबेलासम्म दुर्गाको मनमा चिसो पसिसकेको थियो। त्यसपछि दुर्गाले छोरीलाई गाउँको अन्य ठाउँमा खोजिन्। तर कतै नभेटिएपछि उनी हतास भइन्। बम परिवारले नै छोरीलाई घरमा लुकाएर राखेकी भन्ने दुर्गाको मनमा शंका पस्यो। ‘फेरी त्यसघरमा जान एक्लै आँट आएन। अनि एकजना छिमेकीलाई लिएर बम परिवारकोमा गएँ ’दुर्गाले घटना सम्झँदै भनिन् ‘तरपनि छोरी फेला पार्न सकिएन। ’ बम परिवारले घरभित्र पसेर खोज्न थाल्दा असभ्य व्यवहार गरेको उनीसँग गएका छिमेकीले बताए।
निर्मला हराएको कुरा गाउँमा हल्ला फिँजिसकेको थियो। स्थानियहरू सबै मिलेर बालिकालाई खोज्न थाले। त्यतिबेलाम्म साँझ परिसकेको थियो। बालिका नभेट्टिएपछि पक्कै केही भयो भन्ने सबैले अनुमान गरिसकेका थिए। त्यसपछि स्थानिय प्रहरी प्रशासनमा गएर उनीहरूले निर्मला हराएको कुरा जाहेरी गरे। त्यतिबेलासम्म रातको करिब ७ बजिसकेको थियो। तर स्थानिय प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएन। ‘११ बजे हराएको कुरा ८ बजे लिएर आउनुहुन्छ ? यति रात भइसक्यो, अब भोली विहान खोजौँला’ प्रहरीको भनाइ उधृत गर्दै एक आफन्तले भने। उनीहरू जिल्ला प्रहरी कार्यालयमा पनि सम्पर्क गरे। उताबाट पनि उस्तै उत्तर आयो।
साउन ११ गते बिहान मात्र प्रहरीको टोली आइपुग्यो। निर्मलाको खोजी हुन थाल्यो। खोजी गर्ने क्रममा निम्बुखेडा खोलाको पूर्वउत्तरतर्फ उखुबारीमा निर्मलाको विभत्स शव फेला पर्यो। निर्मलाको शरीर अर्धनग्न अवस्थामा थियो। उनको यौनाङ्गबाट रगत बगेको थियो। दृश्यबाटै प्रस्ट थाहा पाउन सकिन्थ्यो कि निर्मलाको बलात्कार गरेर कसैले हत्या गरेको थियो। घटनाको तेस्रो दिन प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी नेतृत्वको ३ सदस्यीय अनुसन्धान टोली महेन्द्रनगर पुगेको थियो।
चारदिन पछि दाहसंस्कार
घटनाले आफन्त र स्थानियहरू निकै आक्रोसित भए। चार दिन सम्म बालिकाका आफन्तले शब बुझ्न मानेनन्। घटनापछि आन्दोलित बनेको महेन्द्रनगर अझै पनि शान्त हुन सकेको छैन। शव उठाउन प्रहरीले पटक पटक दबाब दिइरहँदा पनि आफन्तले मानेन्। तर अन्ततः बाध्य भएर शब उठाउनु परेको बालिकाका बुबा यज्ञराज पन्तले बताए।
साउन १३ गते मृतकका बुबा र आफन्तहरू तथा प्रदेश नं ७ का प्रदेश सभा सदस्य प्रकाश रावल, कञ्चनपुर जिल्ला अधिकारी लगायतको उपश्थितिमा भएको चार बुँदे सहमती भयो। सहमतीमा स्थानिय प्रशासनले तदारुकताका साथ अनुसन्धान गरी दोषीलाई कानूनको कठघरामा ल्याई कडा भन्दा कडा सजाय दिलाउने कार्यमा सबैले सहयोग पु¥याउने,श्रावण १४ गते शवलाई दाहसंस्कारका लागि आफन्तले बुझिदिने, अन्तिम संस्कारको लागि हुने शवयात्रामा सुरक्षा निकाएकाले प्रभावकारी सुरक्षाको व्यवस्था मिलाउने र मृतकका आफन्तहरूलाई विभिन्न व्यक्तिहरूबाट धकी आइरहेकाले मृतकका परिवारले प्रशासनले आवस्यक सुरक्षा मिलाउने लगायतको चार बुँदे सहमती भएको थियो। सहमती पश्चात श्रावण १४ गते विहान आफन्तले बालिकाको शब जलाए।
शंकामा प्रहरी
प्रहरीले अभियुक्त ठहर भएको भन्दै भिमदत्त नगरपालिका १९ का स्थानिय दिलिप सिंह विष्टलाई पक्राउ गरी गत सोमबार सार्वजनिक गरेको थियो। तर विष्टले हत्या गरेकोमा स्थानिय आस्वस्त हुन सकेनन्। महिला देख्दा पनि तर्केर हिँड्ने र मानसिक सन्तुलन ठिक नभएकाले हुनाले विष्टले बलात्कार गरी हत्या गरेको विस्वास गर्न नसकिने स्थानियको भनाइ छ।
४१ वर्षका विष्टले २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिँह थापाको हत्या गरेको अभियोगमा ९ वर्ष जेल सजाय भुक्तान गरेका थिए। उनी २०७४ सालमा कैद भुक्तान गरी छुटेका थिए। पछिल्लो समय विष्टको मानसित सन्तुलन ठिक थिएन। कारागारबाट जघन्य अपराधका मुद्धामा सजाय भुक्तान गरेर फर्किएका पूवृ कैदीको निगरानी गरिरहेको थियोे। दिलीप जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन्। हत्याको २६ औँ दिनमा प्रहरीले उनलाई समातेर सार्वजनिक गरे। प्रहरीले अभियुक्तले आफूले बलात्कार गरेको र अरुलाई थाह नहोस् भनेर घाँटी थिचि हत्या गरेकोे भनी स्वीकार गरेका प्रहरीले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।