डडेलधुरा– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेलधुरामा पनि प्रदर्शन गरिएको छ।
निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेलधुरामा बिहीबार आम नागरिकहरुले टायर बालेर विरोध प्रर्दशन गरेका हुन्।
सदरमुकामको बागबजार, तुफान डाँडामा प्रर्दशनकारीहरुले टायर बालेर विरोध जनाएका हुन्। प्रदर्शनकारीमाथि प्रहरीले हस्ताक्षेप गरेको थियो।
आन्दोलनकारीहरुले कञ्चनपुरका प्रहरी प्रमुखले दोषीलाई लुकाउन खोजेको भन्दै प्रहरी प्रमुखलाई निलम्बन गर्नुपर्ने, दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखेका छन्।
प्रहरीले १३ वर्षीया निर्मलाको हत्यामा संलग्न भएको भन्दै मानसिक सन्तुलन गुमाएका स्थानीय दीलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया निर्मला पन्त गत साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन्।
आजै डडेलधुराका विभिन्न सामाजिक संघसंस्थाहरुले समेत दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा प्रदेश ७ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।