नेपाल चौथो विमस्टेक शिखर सम्मेलनको आयोजना गर्ने संघारमा छ। उता, नेपालको एक महत्वपूर्ण साथी राष्ट्रको रुपमा रहदै आएको पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको रुपमा उदय भएको छ, इमरान खानको रुपमा।
युद्ध, आतंकवाद र गरिबी जस्ता शब्दको विशेषणबाट चिनिने पाकिस्तानको रुप र रेखालाई फेर्छु भनेर खान पाकिस्तानको सबैभन्दा महत्त्वपूर्ण पदको जिम्मेवारी सम्हाल्न आएका छन्। खानले भनिरहेका छन्– पाकिस्तान अब चाहन्छ त केवल शान्तिमात्र।
दक्षिण एसियाका दुई ठूला मुलुकहरु भारत र पाकिस्तान, जो अंग्रेजले शासन गर्दा एक थिए तर पछि टुक्रिए। यी दुई ठूला मुलुकका घरयासी झमेला र द्वन्द्वका कारण सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुन सकेको छैन। मिति तोकिए पनि स्थगित भएको छ।
अध्यक्ष राष्ट्रको रुपमा रहेको नेपालले चौथो विमस्टेक शिखर सम्मेलन काठमाडौंमा आयोजना गरिरहँदा पक्कै पनि इस्लामावादका प्रतिनिधि र उसका राष्ट्र प्रमुख उपस्थित हुने छैनन्। नेपाल सार्क मुलुकको पनि अध्यक्ष राष्ट्र हो। नेपालले १८ औं सार्कको आयोजना त गर्यो तर पाकिस्तानलाई अध्यक्ष राष्ट्रको जिम्मेवारी हस्तान्तरण गर्न पाएको/सकेको छैन।
अब सार्कको १९ औं शिखर सम्मेलन कहाँ र कहिले हुन्छ भन्ने अनुमान गर्न गाह्रो देखिन्छ। तर पाकिस्तानको नयाँ खान सरकार र भारतको मोदी सरकार बीचको अब अघि बढ्ने सम्बन्धले सार्कको भविष्यलाई निर्धारण गर्न पक्का छ।
सार्ककै विकल्पका रुपमा भारतले सन् १९९७ मा अघि सारेको विमस्टेकमा सार्कका मुलुकका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स छैनन्।
यी मुलुकलाई बेवास्ता गर्दै भारतले अघि सारेको यो बंगालको खाडी राष्ट्रहरुको संगठनमा नेपालसहित भारत, भुटान, म्यानमार, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन्।
सन् १९८६ मा स्थापना भए पनि सार्क मुलुक बीच हालसम्म संयुक्त सैनिक अभ्यास हुन सकेको छैन। तर एक दशक कान्छो संगठन बीचमा संयुक्त सैन्य अभ्यास हुने भइसकेको छ। यसै वर्ष भारतको पुनेमा हुने उक्त अभ्यासले विमस्टेकलाई रणनीतिका साथै सुरक्षाको रुपमा पनि अघि बढ्न प्रेरित गर्ने देखिन्छ। ९० को दशकमा भारतले ‘लुक इस्ट’ नीतिमार्फत् विमस्टेकलाई जोड दिएको थियो। त्यसलाई भारतको पूर्ववर्ति सरकारले ‘एक्ट इस्ट’को रुपमा अघि सार्यो। गोवामा भएको ब्रिक्स सम्मेलनमा विमस्टेक सम्बद्ध मुलुकलाई निम्ता दिनुले पनि भारत यसलाई गतिशील बनाउन चाहन्छ भन्ने स्पष्ट हुन्छ।
दक्षिण एशियाली मुलुकहरुमा बढ्दै गइरहेको चिनियाँ प्रभाव रोक्न पनि भारतले यसलाई रणनीतिक सूत्रका रुपमा लिइरहेको छ।
दक्षिण एसियाली मुलुक मिलेर एक साथ अघि बढ्ने प्रतिबद्धता जनाएको सार्कलाई एक कुनामा छाडेर नयाँ संगठनमा तिर अघि बढ्नु नेपाल जस्तो मुलुकका लागि आफैंमा चुनौतिपूर्ण हुन सक्छ।
नेपालले सार्कलाई ब्युँताउन कोशिस गर्ने कि विमिस्टेकमा रमाउँदै अघि बढ्ने भन्ने प्रश्नको उत्तर खोजी अघि बढ्नु उचित हुने देखिन्छ। विना योजना जसले जे भन्यो, त्यसैको पछिपछि लाग्दा भविष्यमा हुन सक्ने खतराबाट नेपालले अघिले नै सोच्नु पर्ने हुन्छ। (चेक-नेपालबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।