राजविराज– सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला तीन दिनपछि खुलेको छ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा लागेको ताला खोल्न सहमति जनाएका हुन्। विद्युत, पानी, सुरक्षा लगायतका विभिन्न ६ बुँदे माग राख्दै उनीहरुले गत सोमबार औद्योगिक क्षेत्रमा तालाबन्दीसहित प्रवेशद्वारमा धर्ना दिँदै आएका थिए।
भदौ १५ गते स्थानीय प्रशासन, राजनितिक दल, बुद्धिजीवीसहित सरोकारवालाको बृहत् छलफल गराई औद्योगिक क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास गर्ने सहमतिपछि तालाबन्दी र धर्नाको कार्यक्रम स्थगित गरिएको उद्योगी जिवछ यादवले बताए।
गाउँपालिका अध्यक्ष यादवले सरकारी उपेक्षाका कारण लामो समयदेखि औद्योगिक क्षेत्र लथालिंग अवस्था रहेको बताउँदै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। ‘समस्या समाधानका लागि सामूहिक धारणा तयार गर्न र सामूहिक रुपमै प्रयास गर्नका लागि हामीले सरोकारवालाको छलफल गराउने सहमति गर्यौं,’ उनले भने, ‘उद्योगी व्यवसायीका माग जायज छन्, यसको समाधान खोजिनुपर्छ।’
यता, केही उद्योगीहरुले भने समयभित्र सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको कोसी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले बताए। उनले भने, ‘गाउँपालिका अध्यक्ष नै चासो राखेर आउपछि आन्दोलन स्थगित गरेका हौं। सहमति अनुसार काम नभए पुन आन्दोलन गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।