जाकार्ता (इन्डोनेसिया)- १८औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि भेटिँदा तेक्वान्दोका प्रशिक्षक दीपक विष्टको अनुहारमा चमक थियो। सेन्ट्रल जाकार्तास्थित गेलोरा बुङ कार्नो रंगशाला हातामा रहेको जाकार्ता कन्भेसन हलको मिडिया सेन्टरअघि हतार हतारमा थिए उनी। हिँड्ने बेलमा यति मात्र भनेका थिए, 'यसपटक हामी राम्रो प्रदर्शन गर्छौं।'
एसियाली खेलकुदको चौथो दिनसम्म आइपुग्दा दीपकको अनुहारको चमक उडिसकेको छ। बुधबार जाकार्ता कन्भेसन सेन्टरको प्लेनारी हलअघि उनी निराश भेटिए। किनकि पदकको आशा गरिएको तेक्वान्दोको तेस्रो दिन प्रतिस्पर्धा सकिँदा नेपालका ६ खेलाडीको चुनौती समाप्त भइसकेको छ।
दीपकले आफ्नो भनाइसमेत परिवर्तन गरिसकेका छन्। एसियाली खेलकुदको तयारीका लागि दक्षिण कोरियाबाट फर्किएपछि उनले नेपालले राम्रो तयारी गरेको बताएका थिए। तर अहिले नेपालको तयारीमा असन्तुष्टि जनाएका छन्।
नेपाललाई एसियाली खेलकुदमा सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो। नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट १ रजत र १३ कास्य गरी १४ पदक जितेको छ। तर पछिल्ला २ संस्करणमा भने तेक्वान्दोबाट पदक आउन सकेको छैन। पदक नआउनुको मुख्य करण तयारी कम भएको विष्ट बताउँछन्। ‘दुई वा तीन महिनाको प्रशिक्षणले पदक कहाँ आउँछ, एसियाडमा पदक जित्न कम्तीमा ४ वर्ष प्रशिक्षण गर्नुपर्छ,’ एसियाली खेलकुदमा २ कास्य जितेका उनले भने, ‘जबसम्म राज्य नै गम्भीरतापूर्वक लाग्दैन तबसम्म पदकको आशा नगरे पनि हुन्छ।’
नेपाली खेलाडी तेक्वान्दोमा रिङमा उत्रँदा कमजोर देखिन्थे। ८० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेका अनोज पुजारीले काजकिस्तानका खेलाडीविरुद्ध कुनै अंक नै जोड्न सकेनन्। उनले विपक्षी खेलाडी कुनै प्रहार गर्नै गर्न सकेनन्। उचाइमा होचा पुजारीको काम विपक्षी खेलाडीको प्रहार रोक्नु मात्र हुन्थ्यो।
भुटानकी खेलाडीलाई पराजित गरेर क्वार्टरफाइनलमा प्रवेश गरेकी ज्ञानी चुनाराल फिलिपिन्सको खेलाडीविरुद्ध भने फिक्का देखिइनन्। उनले पनि कुनै अंक जोड्न सकिनन्। उनी प्रहार गर्ने कोसिस त गर्थिन् र अंक आउने ठाँउमा लाग्दैन थियो। प्याराफिटमा रहेका नेपाली खेलाडीहरु पनि 'यस्तो हान, उस्तो हान भनेर चिच्याउँथे।' तर ज्ञानीको प्रहारले स्कोरबोर्डमा कुनै अंक बढ्दैन थियो।
तीन महिना दक्षिण कोरियामा प्रक्षिक्षण गरे पनि त्यसको कुनै औचित्य नभएको प्रशिक्षक नोर्बु लामा बताउँछन्। 'हामी कोरिया गयौं र आयौं मात्र। तर त्यहाँ कहाँ र कस्तो खालको प्रशिक्षण भयो कसैले पनि वास्ता गरेन,' लामा भन्छन्, 'अर्कोतर्फ हामी टेक्निकमा पनि कमजोर छौं। कहाँ कसरी हान्दा अंक आउँछ भन्ने कुरामा हामी चनाखो हुन सकेका छैनौं।'
प्रतिस्पर्धामा उत्रनुअघि नै नेपालका खेलाडी तथा प्रशिक्षकको अनुहारमा मनोवैज्ञानिक रुपमा पराजय स्पष्ट देख्न सकिन्छ। त्यसैले खेलअघि र पछि उनीहरुले दिने जवाफ सधैं उस्तै आउँछ। त्यसैले नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र पदक सबै 'भन्ने कुरा' नै त हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।