केही वर्ष पहिलेको कुरा, एउटा दुब्लो ज्यान ब्याग भिरेर बिहानै काठमाण्डौको पुतलिसडकमा लम्किँदै थियो। भर्खर जुंगाको रेखी कोरिएको उनलाई कतै पुग्ने हतार थियो। हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतिरको गन्तब्य हुनुपर्छ। सायद ती पाइलाहरुमा भबिष्यमा सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ। र, त्यो हिँडाइ सानैदेखि अबचेतन मस्तिष्कलाई पोशन गरिएको अब्बल हुने चेतनाको परिणाम हुनुपर्छ। उत्कृष्ट हुने इच्छाले डोर्याएको हुनुपर्छ त्यो आत्मा। तपाईंको अनुमान के होला?
किटान गरेर अनुमान लगाउनुपर्दा डाक्टर पढ्ने तयारी गरिरहेको हुनुपर्छ। ब्यक्ती ,परिवार र समाजको हरियो चस्माले देखेको सम्पन्नताले प्रचुर भबिष्य जो छ डाक्टरी पेशामा। प्रबेश नगर्दा सम्म सधैं हरियो देखिन्छ। कसैले उजाड छ भन्दैमा पत्याउँदैन त्यो मन। त्यस्तै हजारौँ मनहरु आजपनि लम्किँदै छन् काठमाडौ पुतलिसडक वरिपरि।
उत्कट इच्छा र कर्मठ व्यबहारका साथमा। एक प्रकारको बाध्यता पनि लुकेको हुनुपर्छ। पैसा र इज्जतको ललिपपले घर समाजले देखाएको मार्ग न हो त्यो।
समयको परिवर्तन होला। जुङ्गाको रेखी बस्दै गरेकोे दुब्लो ज्यान आज अलिकत मोटाएको हो कि जस्तो देखिन्छ। दारी बढेको छ। त्यही ज्यान यतिका बर्षमा आज डाक्टर बनेको छ। उमेर २८ बर्षमा चलिरहेको होला। तर पढाई अझै निरन्तर छ । अहिलेका सरकारी नियम र बन्धनले लगभग १२ बर्षमा औपचारिक पढाई सकिन्छ।
३ बर्षको पीजी अर्थात् एमडी, ५ बर्षको बन्धन सेवा र फेरी ३ बर्षको डिएम । ४० बर्षको उमेरमा मात्र यो डाक्टर पक्का डाक्टर हुने देखिन्छ।
बिभिन्न नियमले बाँध्न र कस्न मात्र खोज्दै छ नेपाल सरकार। पहिले डाक्टरी पढाइ प्रबेश गर्दा त्यस्ता कस्ने र बाँध्ने नियम थिएनन्। तर अहिले निशुल्कमा पीजी पढाउने र त्यस बापत ५ बर्ष सरकारले खटाएको ठाउँमा जानुपर्ने सर्तमा कबुलियतनामा पेलेर गराइएको छ। जुन कुरा समय सान्दर्भिक देखिन्न। र, न्यायोचित पनि । त्यसैले त असन्तुस्ट स्वर नारासहित उत्रिन्छ स्वास्थ्य मन्त्रालय अगाडि। ‘सेवा गर्न चाहन्छौँ। कमारो बन्न चाहन्नौँ।’
पढ्ने बेला ठेलीका ठेली किताब, लामो परीक्षा। काम गर्दा न रात न दिन, न दसैं न तिहार। न शनिबार भनेर आराम छ। यो सबै डाक्टरको पेशासंगै आउने कुरा हुन्। कोही न कोही आफ्नो निद्राबाट उठेको छ। त्यसैले स्वास्थ्यसेवा टिकेको छ। तर यो कुनै कुरा बाहिर बस्नेले देख्दैन। केबल सेतो कोट र चिटिक्क परेको पोशाक मात्र देख्छ। र, स्वर्णिम सकल जीवनचर्याको अनुमान लगाउँछ।
नियम बनाउने ब्यक्तिले आफुलाई अरुको स्थानमा उभिएर हेर्न नसकेको र बिना अध्ययन पेल्न खोजेर नियम बनाउन खोजेको देखिन्छ। नेपालमा डाक्टर मात्रै छात्रवृत्तीमा पढेको जस्तो व्यबहार देखिन्छ। छात्रवृत्तीको मतलब ब्यक्तिले मिहिनेत गरेर अग्रस्थानमा नाम निकाले बापत पढ्न पाउने अधिकार हो। भने देशको स्वास्थ्य सेवा सुदृढ गर्नु राष्ट्रको दायित्व हो।
तर कसैलाई दाम्लोमा बाँधेर मात्र त्यसको सुनिस्चितता गर्न सकिन्छ भन्नु नै भ्रम हो। एमबीबीएस पछि २ बर्ष दुर्गम र सुगममा करार सेवामा जानुपर्ने बाध्यता छ। त्यही दुई बर्षमा बिभिन्न परिस्थिती र स्थिती भोगेर र खुरापात देखेर नै बिरक्त हुन्छन् धेरै जना । मन कुन्ठित हुन्छ। बाध्यात्मक पलायनबाद सुरु हुन्छ। त्यसैले रहर भन्दा बाध्यता नै भन्नुपर्छ। त्यही कुरा फेरि एमडी पछिको ५ बर्षको बन्धने सेवामा दोहोरिने सम्भावना हुन्छ। त्यो पूरा गर्दागर्दै कपाल फुलिसक्छ। तर पनि पढाइ सकिँदै। पढाइ नसकिनु पीडा हैन। त्यसको मर्म कसैले नबुझ्नु पीडा हो।
सबैको लागि समुन्नत र इज्जतको पेशा डाक्टर। आर्थिक सुरक्षाको मोहले डाक्टर पढ्नु भ्रम हो। लगानी गर्दा लाखौंमा र सेवा गर्दा हजारमा गर्नुपर्छ। ब्यक्तिको आशा अनुरुप पटक्कै मिल्दैन। इज्जतको पेशा भन्ने हो भने लापार्बाहीको सस्तो न्वारन ब्याप्त छ। भौतिक र आर्थिक दुबै क्षति हुने। यस्तो हुनुमा जनमानसको बढ्दो आशा र अल्पज्ञान तथा स्वास्थ्य क्षेत्रको ब्यापरीकरण कारक तत्व हुन्। जे भएपनी यो पेशा असुरक्षित हुँदै छ। आर्थिक र भौतिक रुपले असुरक्षा। सम्मानित भएर पैसा कमाउने सोचले यो क्षत्र प्रबेश गर्नु नै गलत हुन्छ। न सरकारले सम्बोधन गर्छ । न आफ्नो पढाइ समयमा सकिएर कमाउन सकिन्छ।
त्यो दुब्लो ज्यानको प्रगती र हाम्रो देशको प्रगती उस्तै हो। दुबै मन्दगति । काँचुली नै फेर्ला भन्ने आश छैन। । अरु कुनै बिषयमा नलाग्ने बन्धन हाम्रै बिषयमा छ। यता त्यही बन्धन एक किसिमले ब्यक्तिगत प्रगतिको ब्रेक हो। उता ओहदावालाको खराब नियतले देशको प्रगतिमा ब्रेक सादाबाहर छ। देशको प्रगतिमा टेवा पुग्ने भए त हाम्रो दुई बर्ष समर्पण गर्न हुन्थ्यो।
यहाँ त ५ बर्षको बन्धन थोपर्न खोज्दै छ नेपाल सरकार। अझै मन्दगति हुने भयो ब्यक्तिगत बिकास। देशले उन्नती गरे आफ्नो पनि उन्नती होला। आफुले उन्नती गरे देशले उन्नती गर्ला । त्यसरी बाँध्नै पर्छ र? नेपालमा जन्मिएर सुबिधा अमेरिकाको जस्तो खोज्नु मुनासिव त नहोला। तर चिकित्सा पेशालाई यथोचित सम्मान दिन नसक्नु राष्ट्रको कमजोरी नै हो।
पहुँचवालाको अड्डामा सुबिधा मस्त खन्याउने। तर काम भने अस्पातलमा मात्र चुस्त खोज्ने प्रवृत्ती। ‘तिमीहरु त चौबिसै घण्टा सजग हुनुपर्छ। नाइनास्ती हुँदैन’ भन्दै घुर्की देखाउने बेलाबेलामा । ‘श्रमको मूल्य उचित भएन हजुर’ भन्दा कानमा तेल हालेर बस्ने। अर्थ मन्त्रालय ,अख्तियार ,महालेखा, भन्सार ,अदालतमा भने कानेगुजी पनि सफा गरी सुन्ने हाम्रो सरकार ।
यो पीडाबोध कसैले बुझ्न् सक्दैनन् । डाक्टरलाई बाँधेर तह लगाउन खोज्नु, तर सम्पूर्ण राष्ट्रको स्वास्थ्य हेर्ने चिकित्सा क्षत्रको सुबिधामा कन्जुसी गर्नु कहाँ सम्म न्यायोचित होला? स्वास्थ्य क्षत्रको विकृती बढार्न र गुणस्तर बढाउन सारा नेपालीका निम्ती अनसन बसेर लड्ने श्रद्धेय डाक्टर गोविन्द केसीको माग त पूरा गर्न आनाकानी गरिने हाम्रो देशमा अरु केही सकारात्मक प्रगती होला भन्ने कुरामा दुबिधा छ।
कानुन बनाउदा चिकित्साशास्त्रको पूर्ण अध्ययन नगरी बनाउँदा अब चिकित्सा क्षेत्रका ब्यक्तिहरुमा डाक्टर भन्दा वकिलको व्यबहार बढ्ने कुरामा संका नै छैन। बिरामी भन्दा आफ्नो सुरक्षामा ध्यान बढी भएसी उपचारमा बिरामीले नै तीन चक्कर खाने सम्भावन देखिन्छ।
थाहा छ, सन्तुष्टि र सुखलाई जीवनको गन्तब्य मान्नुहुँदैन। त्यो गन्तब्य त कहिल्यै भेटिदैन। किनभने ब्यक्तिसँग मानौँ ९९ प्रतिशत ईच्छा पूरा भएको छ भने पनि उसले त्यसलाई १०० बनाउन खोज्छ। बिडम्बनाको कुरा हो। त्यो सधैं ९९ नै रहन्छ। आफ्नो बाली भन्दा अरुको बारीको बाली राम्रो देख्ने मानवीय स्वभाव होला। तर आफूले भोगेको, देखेको कुरा सबैभन्दा सत्य हुन्छ।
संघर्ष सबै बिधामा हुन्छन् यद्यपी त्यो दुब्लो ज्यानका लागि यो अलग प्रकारको संघर्ष सिकायो। यत्ति हो, यो बिधामा होम्मिन लालायित ति हजारौँ मनहरु एक पटक सोचेर मात्र मरिहत्ते गर्नु उत्तम होला भन्ने मेरो निचोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।