कञ्चनपुर– कञ्चनपुरकी निर्मला पन्त हत्याका अभियुक्त दिलिप सिंह बिष्टलाई कञ्चनपुर जिल्ला अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको छ। कर्तव्य ज्यान मुद्दामा अदालतले थुनामा राख्ने म्याद दिएको हो।
म्याद दिएपछि प्रहरीले पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार घर फर्कने क्रममा निर्मलाको साइकलको चेन बिग्रिएको थियो। उनले देखेपछि बनाइदिने बहानामा नजिक गएर नजिकै उखुबारीमा लगेर बलात्कार गरेका हुन्। बलात्कारपछि पक्राउ पर्ने डरले उनले हत्या गरेको बयान दिएका छन्। घाँटी थिचेर उनले निर्मलाको हत्या गरेका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तको साथीको घरबाट फर्कने साउन १० गते बेलुका क्रममा हत्या भएको थियो।
उनलाई हत्या गर्ने बिष्ट यसअघि आफ्नै भिनाजुको हत्या घटनामा ९ वर्ष जेल बसेका थिए। उनी गत वर्ष जेठमा जेलबाट छुटेका हुन्।
अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार उनी रिसाहा स्वभावका व्यक्ति हुन्। उनी स्थानीय होटलमा काम गर्दथे।
प्रहरीले घटनास्थलनजिकै उनलाई शंकास्पद अवस्थामा भेटाएपछि पक्राउ गरी सोधपुछ गर्दा २५ दिनपछि रहस्य खुलेको हो।
घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट डिएसपी अंगुर जिसी, इन्सपेक्टर गणेश सापकोटा लगायत खटिएका थिए। स्थानीय प्रहरी र सिआइबी टोलीले २५ दिनको अनुसन्धानपछि घटनाको रहस्य बाहिर ल्याएको हो।
अभियुक्त पक्राउ गर्न कञ्चनपुरमा दैनिक जसो आन्दोलन भइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।