काठमाडौं– सर्लाही लालबन्दीकी राजकुमारी स्याङ्तान दुई महिनाअघि वैदेशिक रोजगारीका लागि कतार गएकी थिइन्। स्याङ्तानलाई ‘क्लिनर’ भिसामा काठमाडौंको सामाखुसीस्थित मुभिरा रिक्रुटमेन्ट कन्सल्टेन्ट सर्भिस प्रालिले कतार पठाएको थियो।
नेपालबाट ‘क्लिनर’ भिसामा कतार गएकी स्याङ्तानलाई त्यहाँ पुगेपछि मात्रै थाहा लाग्यो, उनी ‘क्लिनर’ मा नभई ‘हाउसमेड’का लागि कतार पठाइएकी रहिछिन्। आफूले साचेजस्तो काम नपाएपछि स्याङ्तान एक साताअघि मात्रै आफ्नै खर्चमा नेपाल फर्किइन्।
नेपाल फर्किएपछि उनी आफू जादाँ लागेको खर्च र क्षतिपूर्ति माग गर्न मुभिरा रिक्रुटमेन्ट कन्सल्टेन्टको कार्यालयमा पुगिन्। तर परिवारको अवस्था सुध्रिएला, रकमले रकम जोड्ला भनेर दुःख गरेर कमाएको रकम जसलाई बुझाएर गएकी थिइन्, उही मेनपावरको सञ्चालकले त्यस्तो व्यवहार गर्लान् भनेर उनले सोचेकी पनि थिइनन्।
आइतबार वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुगेकी स्याङ्तानले मेनपावर सञ्चालक विजय लामाले कुट्ने तथा उल्टै एजेन्ट भएर मान्छे ठग्ने गरेको आरोप लगाएर जेल हाल्ने धम्की समेत दिएको बताइन्।
मेनपावर अफिसमा गएर कुराकानी गर्न सुरु गरेपछि लामाले कोठाको चुकुल थुनेर झापडसमेत हिर्काउन खोजेको स्याङ्तानले आरोप लगाइन्। आइतबार विभागको उजुरी शाखामा मलिन मुद्रामा भेटिएकी स्याङ्तानले सनाइन्, ‘कतारबाट इज्जत बचाएर नेपाल फर्किएको थिएँ। नेपाल आएपछि मेरो इज्जतमाथि मेनपावर सञ्चालक लामाले खेलबाड गर्न खोजे। त्यतिबेला एउटा काममा भनेर अर्को काममा पठाए। अहिले नानाथरी भनेर उल्टै हप्काउँछ।’
स्याङ्तानकाे राहदानी र कतार जानेबेला नेपालबाट दिइएकाे भिसा
मुभिरा मेनपावरमा ९० हजार रुपैयाँ बुझाएको बताउने स्याङतान सुकम एचआर प्रालिबाट श्रम स्वीकृति लिएर कतार पुगेको विभागको तंथ्याकमा उल्लेख छ। कतारको ‘अल फोरज जेनेरल कम्पनी’मा ‘क्लिनर’ भिसामा उनको श्रम स्वीकृति जारी भएको देखिन्छ।
सरकारले दुई वर्षदेखि वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारलाई श्रम स्वीकृति दिन रोकेको छ। तर, मेनपावर व्यवसायीले अन्य भिसामा श्रम स्वीकृति निकालेर घरेलु काममा महिला कामदार विदेश पठाइरहेका छन्। त्यसको पछिल्लो उदाहरण कतारबाट फर्किएकी राजकुमारी स्याङ्तान हुन्। स्याङ्तानका अनुसार कतारमा उनीजस्तै ‘क्लिनर’ भिसामा गएर ‘हाउसमेड’मा काम गर्ने नेपाली युवती धेरै छन्।
स्याङतानसँग मेनपावर सञ्चालक लामाले ९० हजार रुपैयाँ लिएपनि १० हजार रुपैयाँको मात्र रसिद दिएका छन्। सरकारले तोकेको भन्दा उच्च रकम मेनपावरले स्याङतानसँग लिएको पाइन्छ। सरकारले तीन वर्षअघि कतारसहित ७ मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको हकमा फ्रि– भिसा र टिकट लागू गरेको थियो।
नेपाल सरकारले कतार जाने कामदारको हकमा १२ सय कतारी रियालको डिमाण्डमा मात्र श्रम स्वीकृति जारी गर्ने गरेको छ। तर, स्याङतानलाई करिब ८ सय तलबमा कतार पठाइएको थियो।
स्याङ्तानलाई नेपालबाट ‘क्लिनर’ भिसा निकालेर ‘हाउसमेड’मा पठाएको विभागको तथ्यांकमा छ। मेनपावर सञ्चालकले मुभिरा मेनपावरबाट आर्थिक कारोबार गरेर सुकम मेनपावरबाट श्रम स्वीकृति लिएर पठाएको देखिन्छ। कतारमा कम्पनीले अाफूलाई नक्कली परिचय–पत्र दिएकाे समेत उनले बताइन्।
कतारमा कम्पनीले स्याङ्तानलाई दिएकाे नक्कली परिचय–पत्र
‘सर कतारबाट जसोतसो इज्जत बचाएर नेपाल फर्किएँ। तर, नेपालमा आइसकेपछि पनि मलाई फसाउने मेनपावर सञ्चालकबाट बच्न गाह्रो भयो।,’ विभागमा आफ्नो गुनासो टिपाउँदै स्याङ्तानले भनिन्,‘तँलाई एजेन्ट भनेर जेल हाल्छु भनेर धम्क्याईरहेको छ। पैसा त सकियो, ज्यान र इज्जत बचाउनसमेत गाह्रो भयो।’
हाल, विभागले एकै दिनमा पीडितका उजुरीको सुनुवाइ गर्छ भन्ने सुनेकी उनले उजुरी गरेको एक साता पुग्न लाग्दासम्म मुद्धाको सुनुवाइ नभएको दुखेसोसमेत पोखिन्।
उता विभागले रोजगारपीडितका समस्या तत्काल संम्बोधन गर्ने गरेको प्रवक्ता उद्धवप्रसाद रिजालले दावी गरे। स्याङ्तानको हकमा पनि विभागका तर्फबाट आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताए। उनले भने,‘मेनपावर या व्यवसायी जोसुकैविरुद्ध पनि उजुरी आइसकेपछि स्वतः अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढ्छ। उहाँको उजुरीको पनि छिट्टै सम्बोधन हुनेछ।’
मुद्धा परेका मेनपावरको कामकारबाही नै रोकेर पीडितका मु्द्धालाई प्राथामिकतामा राखी हेर्ने गरेको प्रवक्ता रिजालको भनाइ छ।
स्याङ्तानको आरोपका सम्बन्धमा मेनपावर सञ्चालक लामासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।