जाकर्ता (इन्डोनेसिया)- सेन्ट्रल जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगशाला हातामा रहेको जाकर्ता कन्भेसन सेन्टरको प्लेनारी हलमा सोमबार भएको तेक्वान्दोको प्रतिस्पर्धा पनि नेपालका लागि निराशाजनक रह्यो।
निमा गुरुङ, संगिता बस्याल र सागर गुभाजु आफ्नो प्रतिस्पर्धामा फिक्का देखिए। निमाले पहिलो खेलमै लेवनानकी विश्व च्याम्पियन खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको थियो। सागर गुभाजुले अन्तिम ३२ को खेलमा भुटानका खेलडीलाई पराजित गरेपनि अन्तिम १६ को खेलमा भियतानामका खेलाडीसँग कमजोर देखिए। अर्की तेक्वान्दो खेलाडी संगिता बस्याल भने प्रतिस्पर्धामा बलियाे रुपमा उत्रिएकी थिइन्। अन्य नेपाली खेलाडी भन्दा आक्रमक देखिएकी संगिता फिलिपिन्सकी खेलाडीसँग ५ अंकको अन्तरले पराजित भइन्।
अाजै भएकाे पौडीको प्रतिस्पर्धा पनि नेपालका लागि बिर्सनलायक रह्यो। पौडीमा गौरिका सिंह र टिशा शाक्यको उपस्थिति कमजोर रह्यो। दुवै खेलाडी हिट चरणबाटै बाहिरिए। सहभागी २७ खेलाडीमध्ये गौरिका १८औं र टिशा २२औं स्थानमा रहे।
ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालको यात्रा क्वार्टरफाइनलमै सकियो। पाकिस्तानलाई पराजित गर्दै अन्तिम ८ पुगेको नेपाललाई चाइनिज ताइपेहले साेझाे सेटमा ३-० ले पराजित गर्याे।
सुटिङमा पनि नेपालको प्रदर्शन कमजोर रह्यो। महिला १० मिटर एयर राइफाइलमा ४६ खेलाडी सहभागीमध्ये कल्पना परियार ४५औं र सुस्मीता नेपाल ४६औं स्थानमा रहे। सुटिङको पुरुष १ सय मिटर एयर राइफलमा नेपालका सुसे चौधरी ४४ खेलाडीमध्ये ४२अाैं स्थानमा रहे।
दिनको सुखद नतिजा दिने एभेन्ट टेनिसको महिला डबल्स बन्यो। महिला डब्लसमा माहिका र मायंका राणाले अन्तिम ३२ को खेलमा जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरे। राणा दिदीबहिनीले माल्दिभ्सका माहिर अमिना र अब्दुल जेइनालाई ६-४ र ६-१ ले पराजित गरे।
उसुमा साग खेलकुदकी स्वर्ण विजेता नीमा घर्तीमगरको नान्डो विधामा राम्रो प्रदर्शन हुन सकेन। उनी १२ खेलाडी सहभागी प्रतिस्पर्धामा ११औं भइन्।
यसरी नेपाली खेलाडीले तेस्रो दिन पनि खराब प्रदर्शन गरेपछि तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले निराशा प्रकट गरे। 'अन्तिमसम्म पदकको आसा गर्ने हो।', एसियाली खेलकुदका पदक विजेता समेत रहेका विष्टले भने, 'पदकका लागि हामीले विगत ४ वर्षमा के-कस्तो तयारी गर्यौं र कस्तो प्रतियोगितामा भाग लियौं भन्ने महत्वपूर्ण हुन्छ।' यसो बताइरहँदा उनले एसियाली खेलकुदमा नेपालले पदक जित्न लामो समयको तयारी र योजनाहरु बनाउन नसकेकोतर्फ संकेत गरेकाे स्पष्ट हुन्थ्याे।
सहभागिता जनाउनु र पदक जित्नु फरक कुरा भएको विष्टले बताए। उनले भने, 'सहभागितामात्र जनाउने उद्देश्यले भाग लिँदा पदकको आसा गर्न सकिन्न।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।