काठमाडौं– एसिसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई सभामुख कृष्णबहादुर महराले बिदाइ गरेका छन्।
सोमबार बिहान आफ्नै निवास बालुवाटारमा बोलाई सभामुख महराले सम्मानका साथ टोलीलाई बिदाइ गरेका हुन्।
मलेसियामा भदौ १२ गते हुने प्रतियोगिताको लागि शुभकामना दिँदै सभामुख महराले नेपाली क्रिकेट टोलीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरे। नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारले योजनाबद्ध ढंगले काम गर्न लागेको पनि बताए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीको लागि राम्रो अवसर भएको हुनाले खेल जितेर नेपाललाई विश्वस्तरमा चिनाउने विश्वास व्यक्त गरे। कप्तान खड्काले खेललाई सुविधाजनक बनाउन सहयोगका लागि सरकारसमक्ष अपिल पनि गरे।
खड्काले बिदाइ कार्यक्रम राखेर टिमलाई उत्साह थपिदिएकोमा सभामुख महरालाई धन्यवाद पनि दिए। नेपाली क्रिकेट टोली श्रीलंकामा अभ्यास खेल खेलेर मात्र मलेसिया जानेछ।
नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार साह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल लगायतका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्।
एसिसी छनौट कप प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।