दाङ– दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। तुलसीपुरमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको हो।
बिहान घरमै सुतिरहेको अवस्थामा सर्पले टोक्दा तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने १२ वर्षीय राजु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
आइतबार बिहान तीन बजेतिर सर्पले टोकेर गम्भीर घाइते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए।
त्यस्तै, सर्पको टोकाइबाट दाङ शान्तिनगर गाउँपालिकाका वडा नम्बर–२ बाघमारेका युवराज ओली गम्भीर बिरामीे भएका छन्। सोमबार बिहान ११ बजेतिर उनलाई सर्पले टोकेको थियो।
घरभित्रै बसिरहेको अवस्थामा सर्पले टोक्दा घाइते भएका १२ वर्षीय ओलीको राप्ती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।