काठमाडौं– ‘घटना शंकास्पद देखियो, हामी गहिरो अनुसन्धानमा छौं’, फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्याको खबरपछि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भन्दै थिए,‘यस्ता घटनाको अनुसन्धान गर्ने आफ्नै पद्धति हुन्छ, हामी त्यही अनुसार अघि बढ्छौं।’
आइतबार बेलुका खाना खाएर काठमाडौं बबरमहलस्थित आफ्नै घरको कोठामा सुतेका पूर्वराजदूत केशव झाको हत्या भएको खबर परिवारले सोमबार बिहान मात्र थाहा पाएको भनिएको छ। प्रहरीका अनुसार झा सुतेको कोठा बाहिरबाट बन्द थियो। दोस्रो तलाको एउटा कोठमा सुतेको कोठाको झ्यालकाे जाली काटिएको छ। घटनास्थलबाट एक चक्कु समेत फेला पारेको दाबी प्रहरीको छ।
यस्तो घटनाको अनुसन्धान कसरी हुन्छ?
प्रहरीका अनुसार यस्तो घटनामा सबैभन्दा पहिला घटनास्थलमा रहेका प्रमाण संकलन गरिन्छ। वस्तुस्थिति अवलोकन हुन्छ। परिवारका सदस्य र घरमा रहेका व्यक्तिहरुसँग प्रारम्भिक सोधपुछ हुन्छ। ‘प्रहरीले सबै तथ्यको विश्लेषण सुरु गर्छ र हात लागेको ‘क्लू’का आधारमा अनुसन्धानलाई अघि बढाउँछ’, एक प्रहरी अधिकृतले नेपाल लाइभलाई बताए, ‘झाको हत्या नै भएको हो भन्नेमा प्रहरी पुगेको छ र उनको घरमा उनीसँगै बस्दै आएकी श्रीमती र घरेलु सहयोगीहरुसँग सोधपुछ चलिरहेको छ।’
सहयोगी सानु तामाङ थिए जो झाको परिवारसँगै बस्थे। र, अर्का एक माली बिहानदेखि साँझसम्म झाको बैगैंचामा काम गर्थे। उनले अन्य घरेलु काममा पनि सहयोग गर्थे। दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झाका एक छोरा र एक छोरी छन्। उनीहरू दुबैजना डाक्टर हुन्। छिमेकीहरु भन्छन्, ‘झाका छोरा र बुहारी भने विदेशमा बस्छन्। उनीहरु हालै मात्र नेपाल आएर शनिबार विदेश फर्केका थिए।’ घटनाको बखत छोरी पनि घर बाहिर रहेको बताइएको छ।
सोधपुछका लागि झाको घरमा काम गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका प्रमुख बसन्त कुमार लामाले बताए।
८० वर्षका झाको रहस्यमयी हत्यापछि प्रहरीले यसका विभिन्न पहलुहरुलाई केन्द्रमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ। ‘शब पोस्टमार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ’, प्रहरीले जानकारी दिएको छ, ‘पोस्टमार्टम रिपोर्टले पनि अनुसन्धानलाई अगाडि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।’
त्यसैगरी प्रहरीले झाको घरको फोन डिटेल अध्ययन गर्ने भएको छ। उनीसँग जोडिएका र घरमा आवतजावत भइरहने सम्बन्धका व्यक्तिहरुबारे पनि प्रहरीले निगरानी बढाउनेछ।‘रहस्यमय घटनाको अनुसन्धान विविध पक्षबाट हुन्छ’, जिल्ला प्रहरी कार्यालयका अर्का एक प्रहरी अधिकृतले भने, ‘हत्या कसले गर्यो भन्ने कुरा अहिल्यै भन्न सकिँदैन, हाम्रा लागि पनि यो प्रश्न प्रश्नकै रुपमा रहेको छ अहिलेसम्म, प्रश्नको जवाफ खोज्ने प्रयास भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।