काठमाडौं– राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसदहरुले विमस्टेक बैठक निजी होटलमा गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद विन्दादेवी आले लामाले विमस्टेक सम्मेलन राष्ट्रिय सभागृहमा नभएको प्रति सरकारको आलोचना गरिन्। सार्क सम्मेलनका लागि तयार गरिएको सभाहललाई प्रयोग नगरी सरकारले आर्थिक भार थोपरेको बताइन्।
उनले भनिन्, ‘सरकारलाई लज्जबोध हुनुपर्ने हो।’ व्यापार घाटाका विषयमा सरकारले सहभागी देशहरुसँग कुरा उठाउन उनले आग्रह गरिन्।
राष्ट्रियसभा सदस्यहरुले वर्षाका कारण प्रभावितहरुको ध्यान सरकारले नपुर्याएको भन्दै सरकारको आलोचना गरे। सांसद युटोल तामाङले सदनमा उठेका कुरा सरकारको कानमा नगुगेको जस्तो देखिएको कटाक्ष गरिन्। उनले वर्षामा जनताहरु पालमुनि बस्नुपरेको पिडा सुनाइन्।
कांग्रेस सांसद बद्रि पाण्डेले अविरल वर्षाले बाजुराका विभिन्न स्थानमा पहिरो गएको प्रति सरकारको ध्यानआर्कषण गराउँदै भने, ‘सरकारले उद्धारको कामलाई समन्वय गर्न सकेको छैन। प्रजिअको संयोजकत्वमा गठित समिति पनि सक्रिय छैन।’ संघले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेका कारण प्रदेश सरकारको गुनासो सुनिने गरेको उनले दावी गरे।
अर्का सांसद सिंह बहादुर विश्वकर्माले सिन्धुपाल्चोकमा बाढीका कारण पुलहरु भत्किएकोले आवागमनमा समस्या परिरहेको बताए। रमेशजंग रायमाझीले तराइका किसानहरुले डिएपी र युरिया मल नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘सरकारले मल उपलब्ध नगराउँदा सीमा पारी जानुपर्ने स्थिति छ। मल ल्याउँदा प्रहरीले रोकेर पैसा लिने गरेको स्थानीय बताउँछन्।’ कृषकलाई ६ प्रतिशत ऋण दिने भनिएपनि साना कृषकहरुले प्राप्त गर्न नसकेको औँल्याए।
सांसदहरुले अघिल्लो संसदले पारित गरेको मुलुकी संहितालाई सरकारले कार्यान्वयन आउनुपूर्व पर्याप्त छलफल नगरेको बताए। संहिताले पेशागत मर्यादा, स्वतन्त्र प्रेसलाई अप्ठ्यारो पारेको उनीहरुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।