धनकुटा– धनकुटा र हिले बजारको बिचमा पर्छ कागते। धनकुटा नगरपालिका वडा नम्बर–३, कागते कुनै बेला धनकुटामा धेरै जुवातास खेलिने क्षेत्रका रुपमा बदनाम थियो। लोकल मदिराका सयौँ भट्टी पसल थिए। साँझ परेपछि जो कोहीलाई बाहिर निस्कन गाह्रो हुन्थ्यो।
अहिले त्यही कागते धनकुटाको नमुना वडाको रूपमा परिचित हुन थालेको छ। हरियाली र सफा देखिने कागते अहिले पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको छ।
मुलुकभरका जनप्रतिनिधिहरू नियम र कानुनले काम गर्न दिएन भनेर आफ्नो कार्य सम्पादनमा पन्छिँदै गर्दा सो वडाका वडाध्यक्षलाई भने काम गर्न भ्याइनभ्याइ छ। ३३ वर्षीय विकास घिमिरेले वडाको नेतृत्व सम्हाल्न सुरु गरेसँगै वडावासी मात्र हैन सम्पूर्ण नगरवासी नै उत्साहित भएको स्थानीयको भनाइ छ।
‘गाउँ स्वर्गैजस्तो भएको छ’
वडालाई जुवातास तथा मदिरामुक्त क्षेत्र घोषणा गरिएको छ। घरेलु मदिराको व्यापारबाट गुजारा चलाउँदै आएकी स्थानीय बाबा राई अहिले व्यवस्थित होटेल निर्माणमा जुटेकी छिन्। पहिला स्थानीय युवाहरू भेला हुने उनको होटेल क्रमशः आगन्तुक पाहुना तथा पर्यटकले पनि भरिभराउ हुन थालेको छ।
मदिरामुक्त वडा घोषणा गरिएसँगै वडाको परिचय नै परिवर्तन भएको बताउछन् वडाबासी फडीन्द्र बस्नेत। ‘पहिला घरमा कोही पाहुना आए भने पनि के भन्लान् भन्ने हुन्थ्यो। तर, अहिले पाहुना आइदिए हुन्थ्यो भन्ने भएको छ।’, उनी भन्छन्, ‘क्यारम बोर्ड, लुँडो र तास पनि निषेध गरेपछि गाउँ स्वर्गैजस्तो भएको छ।’
कागतेमा जाँडरक्सी खाएको देख्न अहिले पाइँदैन। कारबाहीको भागीदार बन्नुपर्छ भनेर कुनै पनि व्यापारीले स्थानीय युवालाई मदिरा बेच्न छाडेका छन्। मदिराको सट्टा स्थानीय परिकार, मासु र खाजा बिक्री हुने गरेको छ। व्यवस्थाअनुरुप चलेको छ की छैन भनि वडाध्यक्ष र सदस्यबाट नियमित अनुगनमनसमेत हुने गरेको छ।
‘ग्रिन कागते, क्लिन कागते’
‘ग्रिन कागते, क्लिन कागते’बाट सुरु भएको घिमिरेको कार्यकालमा ‘ग्रिन कागते क्लिन कागते, समृद्ध वडा नम्बर ३ हाम्रो अभियान’सम्म पुगेको छ। एकै खालका घरहरु हुँदा पर्यटन प्रवद्र्धनका लागि टेवा पुग्ने भन्दै प्रत्येक घरमा हरियो रङ लगाउन वडाबासीलाई आग्रह गरिएको छ। सडकमा वरपर तथा खालि क्षेत्रमा फलफूल तथा बिरुवा रोप्नेसमेत काम गरिएको छ।
ग्रिन र क्लिन वडा बनाउने काम वडा कार्यालयबाटै सुरु गरिएको हो। कार्यालय छिर्नेबित्तिकै देखिने हरियाली र सजावटले वडाको पहिचानको झल्को दिएको छ। वडाबासीलाई आफ्नो क्षेत्रका बारेमा बुझ्न सहज होस् भन्दै नागरिक बडापत्रमा हरेक वडाध्यक्षको नामावली, धनकुटा नगरपालिकाको पहिचान, जनसंख्या, आर्थिक अवस्था, नक्सा तथा अन्य विविध जानकारीसमेत राखिएको छ।
फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक प्रक्रियाको सुरुवात गरिएको छ। वडाभरी नै कुहिने र नकुहिने फोहोर राख्ने छुट्टै ‘डस्टबिन’को व्यवस्था गरिएको छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर कृषकलाई दिने र नकुहिने फोहोरको ‘रि–साइकल’ गरी विभिन्न सजावटका सामग्री बनाउने कार्यसमेत थालिएको छ।
तीन वटा पकेट क्षेत्र घोषणा
काम गर्ने उमेरसमूहका सबै वडाबासी आयआर्जनको बाटोमा जोडिउन भन्न विशेष पकेट क्षेत्रको घोषणा गरिएको छ। भौगोलिक विशेषता, अनुकुलता, पहुँच र क्षमताका आधारमा तीन वटा पकेट क्षेत्र बनाएर कार्यक्रम अगाडि बढाइएको वडाध्यक्ष घिमिरे बताउँछन्। बाख्रा पकेट क्षेत्र, गाईवस्तु पकेट क्षेत्र र पर्यटन पकेट क्षेत्र मुख्य प्राथमिकतामा परेका छन्। बाख्रा पकेटक्षेत्रमा व्यवसायिक रुपमा बाख्रापालनका अलावा बाख्रा सम्बन्धि अनुसन्धानसमेत गर्ने गरिएको छ। यसका लागि वडाका मालबासे, चाँगलुँगा, सिलूँगा क्षेत्र तोकिएको छ।
गाईवस्तु पकेट क्षेत्रमा गार्इभैँसीको दुध तथा दूग्धजन्य परिकार उत्पादन गर्ने र अध्ययन गर्ने कार्यक्रम ल्याइएको छ। सेउले, लाकुरे, सिप्तिंगलाई गाईभैँसी पालन र नगदेबाली पकेट क्षेत्र घोषणा गरिएको छ।
पर्यटन पकेट क्षेत्रमा होमस्टे लगायत पर्यटकलाई आकर्षित गर्न स्थानीय कला संस्कृतिको प्रदर्शनी गरिने लगायतका योजना ल्याइएको छ। कागते र निगालेमा पर्यटन प्रवद्र्धनका लागि पहल गरिने बताइएको छ। चालु आर्थिक वर्षदेखि घोषणा भएका क्षेत्र र कार्यक्रमका लागि सोही अनुसार नै बजेट विनियोजनसमेत गरिएको छ। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भनेर खुल्ला क्षेत्रको अवधारणाअनुरुप पार्क निर्माणलाई जोड दिइएको छ। जसअन्तर्गत केही पार्कहरु निर्माण भइसकेका छन् भने केही निर्माणाधीन छन्।
कृषिमा व्यवसायिकता भित्र्याउने प्रयास
अफ्रिकामा पाइने ‘बोयर’ जातका ५ वटा बोका बीउका रुपमा ल्याएर व्यवसायिक बाख्रापालन सुरु गरिएको छ। उक्त बोकाबाट उत्पादित बाख्राको माग धनकुटा नगरपालिका तथा अन्य छिमेकी नगरपालिकामा समेत हुन थालेको छ। एक वर्षमा उक्त बोकाका सन्तानको तौल ३० देखी ३८ किलोग्रामसम्म हुन्छ।
सयपत्री फूलमा देखिएको परनिर्भता रोक्न व्यवसायिक खेती सुरु भएको छ। बाह्रै महिना फुल्ने सयपत्रीको बीउ थाइल्यान्डबाट ल्याइएको छ। कम्तिमा एक सय परिवारलाई व्यावसायिक फूल खेतीमा लगाइने योजना रहेको घिमिरेले उल्लेख गरे। पहिले रक्सीमा रमाउने युवा अहिले फूलको सुगन्धमा रमाउन थालेका छन्।
विद्यार्थीको संख्या बढेपछि भर्ना अभियान नै बन्द
‘काम गर्नेलाई अवसर, नगर्नेलाई बहाना’ भनेजस्तै घिमिरेले कृषि र पर्यटनका साथै सार्वजनिक विद्यालय क्षेत्रमा पनि व्यापक सुधार गरेका छन्। गत वर्ष १६ जना मात्र विद्यार्थी भएको यसै वडामा रहेको ज्वालादेवी प्राथमिक विद्यालयमा यस वर्ष कक्षा १ र २ मा मात्रै ४२ जना विद्यार्थी थपिएका छन्। व्यवस्थापन गर्न समस्या पर्ने भएकोले भर्ना अभियाननै बन्द गर्नु परेको प्रधानाध्यापक रामहरि सुवेदी बताउँछन्। भूकम्पले थलिएको उक्त विद्यायलको पुनःनिर्माण गरी पठनपाठनमा सुधार गरेसँगै विद्यालयमा विद्यार्थी आकर्षित भएका हुन्। गरिबका छोराछोरी मात्र पढ्ने भनेर चिनिएको विद्यालयमा शैक्षिक गुणस्तर बढ्ने विश्वासले स्थानीय व्यापारीका छोराछोरीसमेत भर्ना भएका छन्।
वडाकै बजेटबाट प्रत्येक विद्यार्थीलाई पोशाकको व्यवस्था गरिएको छ। शिक्षक शिक्षिकाको उपस्थिति नियमित बनाउन विद्युतीय हाजिरी मेसिनको व्यवस्था गरिएको छ। रोचक कुरा त के छ भने, सहरका महँगा मन्टेस्वरी विद्यालयमा प्रयोग हुने ‘मिदास इ–क्लास’ पद्धतिबाट स्थानीय सरकारी विद्यलयमा पठनपाठन सुरु गरिएको छ। वडाक्षेत्रका प्रत्येक विद्यालयका कक्षाकोठामा प्रोजेक्टर र एलइडी टिभीको प्रयोग गरी पठनपाठन हुन थालेको छ।
यस वडामा नेपालकै लोपोन्मुख जाति आठपहरिया राईको बसोबास छ। आठपरहरियाको संस्कृति झल्कने गरी होमस्टे सञ्चालन गरेर लोपोन्मुख जातिको उत्थान गर्ने योजना रहेको वडाध्यक्ष घिमिरे सुनाउँछन्।
गाउँँमा बढ्दै गएको बेरोजगारी र परनिर्भता न्यूनीकरण गरी स्वावलम्बी र आत्मनिर्भर वडा बनाउने घिमिरेको योजना छ। स्थानीय क्षेत्रको भौगोलिक अवस्था, अनुकुलता, व्यवसायिक र वैज्ञानिक पद्धति तथा इच्छाशक्तिका कारण कागते गाउँले कोरेको विकास र समृद्धिको बाटो अन्य स्थानीय तहका लागि उदाहरणीय बन्नेमा घिमिरे विश्वस्त छन्। भन्छन्, ‘इच्छाशक्तिका साथ भएका पूर्वाधार तथा संयन्त्रलाई सही ढंगबाट सदुपयोग र परिचालन मात्रै गर्न सकियो भने परिवर्तन अवश्य आउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।