पोखरा- पोखरा महानगरपालिकाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान सुरु गरेको छ। मापदण्डका आधारमा विभिन्न क्षेत्रमा अतिक्रमण भएका नयाँ तथा पुराना संरचना हटाउन महानगर क्रियाशील देखिएको हो।
महानगरपालिकाको तेस्रो नगरसभाले २०७५ साललाई ‘सार्वजनिक जग्गा संरक्षण वर्ष’का रुपमा घोषणा गरेको थियो। सोही घोषणा अनुरुप विभिन्न क्षेत्रमा मिचिएका संरचनाको महानगरले अमिन पठाएर सार्वजनिक जमिन छुट्ट्याउने, रेखांकन गर्ने, सार्वजनिक जग्गामा बनेका संरचना भत्काउने लगायत काम सुरु गरेको हो।
‘सार्वजनिक जग्गा बचाउ’कै क्रममा सराङकोटमा अतिक्रमण भएको ३ रोपनी जग्गा फिर्ता गर्न समेत महानगर लागिपरेको छ। सराङकोट धार्मिक तथा पर्यटन विकास समिति एकीकृत गुरुयोजना भित्रको जग्गा मिचिएको पाइएको हो।
सराङकोटमा सार्वजनिक जमिन छुट्ट्याइएको खम्बा देखाउँदै वडाध्यक्ष रणबहादुर थापा
संजियार देवराज गौतमले समितिको जग्गा अतिक्रमण गरेको पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले बताए। समितिको जग्गा समितिलाई नै बुझाउनका लागि संजियारसँग आवश्यक छलफल तथा पहल गरिरहेको अध्यक्ष थापाले बताए। ‘सुरुदेखि नै पटक–पटक खबर गरिसक्यौं। तर, सुनेपनि नसुनेजस्तै गरेका छन्।,’ वडाध्यक्ष थापाले भने, ‘अब हामी नै लागिपरेका छौं, पर्यटकीय क्षेत्रमा जग्गा कुनै पनि हालतमा मिच्न दिँदैनौं।’
गौतमले ३ रोपनी जग्गा अतिक्रमण गरी तारजालीसमेत गरेको वडाध्यक्ष थापाले जानकारी दिए। ‘पटक–पटक जानकारी दियौं, तर अटेर गरे, त्यसैले हामी आफै अग्रसर भई जमिनको खास नाप लिएर खम्बा गाडेका छौं,’ उनले भने। वडाध्यक्ष थापाले गौतमलाई खबरदारी गरेता पनि अटेर गरेकाले महानगरको ‘सार्वजनिक जमिन संरक्षण’ बजेटले खम्बा गाडेको बताए। ‘जग्गा संरक्षणका लागि स्टिमेटमा ९ लाख जति लाग्ने देखिएको छ, आवश्यक काम हुँदैछ,’ उनले भने। जग्गा अतिक्रमण रोक्न महानगरबाट १२ लाख रुपैयाँ वडाका लागि बजेट छुट्ट्याएको उनले जानकारी दिए।
देवराज गौतमले अतिक्रमण गरी तारजाली गरेकाे जग्गा
सराङकोट धार्मिक तथा पर्यटनस्थल उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जमिनलाई अतिक्रमणबाट जोगाउन २ सय ७४ वटा फलामे खम्बा लगाएको जानकारी दिए। ‘समितिका केही स्थानीयले अतिक्रमण गरेका अरु पनि जमिन फिर्ता गरिसक्यौं, तर गौतम विदेश भएका कारण समस्या आएको छ,’ उनले भने।
भकुन्डेमा पनि अतिक्रमण
पोखरा—१८, भकुन्डेमासमेत सार्वजनिक जमिनमा एक व्यक्तिले घर बनाइरहेका छन्। महानगरको पटक–पटकको खबरदारीलाई समेत बेवास्ता गर्दै घर बनिरहेको वडाध्यक्ष थापाले बताए। घर दीपक पौडेलले बनाउन लागेका हुन्।
सार्वजनिक जमिनमा घर बनाइरहेको थाहा पाएर पहिले नै खबर गरेको र अटेरी गरेकाले डोजर नै लगाएर भत्काएकोसमेत वडाध्यक्ष थापाले जनाए। ‘पहिले नै डोजर लगाएर भत्काइसकेका थियौं, फेरी अटेरी गर्दै घर बनाइरहेका छन्,’ उनले भने। जमिन पहिलेदेखि नै सार्वजनिक भएता पनि एक स्थानीयले बिना कागजात पौडेललाई बिक्री गरेका थिए।
भकुन्डेमा सार्वजनिक जग्गामा बन्दै गरेको संरचना
भकुन्डे टोल विकास समितिका अध्यक्ष बुद्धिबहादुर खड्काले सस्तोमा पाएकाले बिना कागजात जमिन किनेको हुनसक्ने बताए। ‘पुर्खौंदेखि भोगचलन गर्दै आएको जमिन हो भनेर केही सस्तोमा पौडेललाई बेचेछन्,’ उनले भने, ‘उनीसँग अहिले कुनैपनि कागजात छैन। त्यसैले पैसा फिर्ता दिलाउन पनि समस्या छ।’ पौडेल ठगिए पनि सार्वजनिक जग्गामा घर बनाउन नपाउने उनले स्पष्ट पारे।
भकुन्डेमा पौडेलजस्तै २० घरभन्दा बढीले बिना कागजात जग्गा किनेको वडाध्यक्ष थापाले सुनाए। ‘करिब १० रोपनी जग्गाको त कसैको कागजात नै छैन, त्यही पनि उनीहरुले सबै सुविधा पाएका छन्,’ उनले भने, ‘जनप्रतिनिधि आउनुभन्दा अघि भएर यस्तो भएको हो। अब आवश्यक कदम चाल्छौं।,’ उनले स्पष्ट पारे।
महानगरले सार्वजनिक जमिन संरक्षण गर्न १ करोड बजेट छुट्ट्याएको मेयर मानबहादुर जिसीले बताए। ‘विभिन्न ठाउँमा अतिक्रमण गरिएका जग्गा हामी फिर्ता ल्याउने अभियानमा लागेका छौं,’ उनले भने। महानगरले मिचिएका जग्गा फिर्ता ल्याउने, बनेका संरचना भत्काउने र विवादित ठाउँमा नयाँ बन्न नदिने नीति लिएको उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।