सेम्बालुन– इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ २ वटा शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको तथा ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ।
दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले ४ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६ दशमलब ९ म्याग्निच्यूडको तथा त्यसपछिका पराकम्पनहरु ६ दशमलब ३ र ५ दशमलब ४ म्याग्निच्यूडका थिए। यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन्।
एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौति भएको थियो। तथापि धनजनको क्षतिको विवरण प्राप्त भइसकेको छैन।
लोम्बोकमा यही अगष्ट ५ मा (१४ दिन अघि) गएको ७ रेक्टर स्केलको भूकम्पमा परी ४ सय ६० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका कारण लाखौं मानिस अझै विस्थापित अवस्थामा छन्।
इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।