जेरूसेलम– करिब एक हप्ता लामो सीमा विवादपछि इजरायलद्वारा गाजाबाट प्यालेष्टिनी नागरिकका लागि प्रवेश गर्न खुला राखेको एकमात्र सीमा प्रवेशद्वारसमेत आइतबारदेखि मानवीय सहायताका लागि बाहेक अन्य अवस्थामा बन्द गरेको छ।
प्यालेष्टिनी तथा इजरायली समूहबीच लामो समयदेखि कायम रहेको विवादलाई सुल्झाउन पछिल्ला केही महिना यता अन्तराष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्रसङ्घ लगायतका सङ्घसंस्थाले गरेका पहलहरू यससँगै तत्काललाई पछि धकेलिने सम्भावना बढेका छन्।
इजरायलको पछिल्लो यो कदमले गाजावासीलाई इद–अल आधाको अवसरमा पाउने एक हप्ता लामो बिदाका लागिसमेत बाटोको प्रयोगमा बन्देज लाग्ने भएको छ। मुसलमानहरूको उक्त पर्व सोमबार सुरु भई आगामी बिहीबारसम्म रहनेछ।
इजरायली अधिकारीले उक्त नाका कति समयसम्मका लागि बन्द हुने हो यसबारे केही बताएका छैनन्।
इजरायली रक्षामन्त्री अभिडोर लिबरम्यानद्वारा हस्ताक्षरित विज्ञप्तिमा सीमा क्षेत्रमा गत शुक्रबार भएका हिंसात्मक गतिविधिका कारण गाजाबाट इजरायलतर्फ प्रवेश गर्ने नाकालाई बन्द गरिएको बताइएको छ।
नाकाबन्द गरिएको उक्त विषयलाई इजरायली नागरिक मामिला हेर्ने कार्यालयका अधिकारीले औषधि तथा अन्य मानवीय सहयोगका लागिबाहेक उक्त नाका बन्द रहने बताएका छन्।
गत शुक्रबार सीमाक्षेत्रमा प्यालेष्टिनी नागरिकहरूले गरेको प्रदर्शनमा दुई प्यालेष्टिनीको मृत्यु भएको थियो। इजरायली सेनाले सीमा क्षेत्रमा हाते बम तथा घरेलु विष्फोटक पदार्थद्वारासमेत प्रदर्शनकारीले सीमाबारमा आक्रमण गरेका दावी गरेका छन्।
प्रदर्शनका क्रममा इजरायली पक्षतर्फ कोही घाइते नभएका तर सीमा नाकाको प्रयोग गरी एकाध प्यालेष्टिनी इजरायली क्षेत्रतर्फ जान सफल भएको बताइएको छ।
इजिप्ट र संयुक्त राष्ट्रसङ्का अधिकारीद्वारा इजरायली तथा हमास पक्षधरबीच शान्तिका लागि गरेको प्रयासका बाबजुद गत हप्ता उक्त प्रदर्शन भएको थियो।
इजरायलले गाजातर्फबाट प्रवेश गर्ने हवाई, जमिन तथा सामुद्रिक बाटोलाई एक दशकदेखि बन्द गर्दै आएको छ। तर केही प्यालेष्टिनीलाई भने आवश्यकता तथा सुरक्षा अवस्थालाई निगरानी गर्दै प्रवेश दिने गरेको छ।
दुई पक्षबीच सन् २००८ पछि तीन पटक लडाई भएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।