जाकर्ता (इन्डोनेसिया) - १८औं एसियन गेम्स (एसियाड) को दोस्रो दिन नेपालले निराशाजनक प्रदर्शन गरेको छ। नेपालले खेलका ८ खेल मध्ये ७ खेलमा हार ब्यहोरेको छ।
विहानदेखि नै नेपालको खराब नतिजा आउन सुरु गरेको थियो। फेन्सिङमा कमला श्रेष्ठ र रविना थापा प्रारम्भिक चरणबाटै बाहिरिएका थिए।
वेस्ट जाभास्थिति प्याट्रिओट रंगशालामा भएको फुटबलको प्रतिस्पर्धामा नेपाललाई इतिहास रच्ने अवसर थियो। पाकिस्तानविरुद्धको खेलमा नेपालले सुरुवात पनि राम्रै गरेको थियो। तर नेपालले २-१ ले पराजित हुँदा इतिहास बनाउन चुक्यो।
नेपालले सन् १९८२ को एसियन गेम्समा पहिलो पटक भाग लियो थियो। त्यसयता खेलेका १८ वटा खेलमा नेपाल पराजित हुन बाध्य भयो।
खेलपछि यू-२३ नेपाली टिमका कप्तान किरण चेमजोङले इतिहास बनाउन चुक्दा दु:ख लागेको बताए। रंगशालामा सय जनाको हराहारीमा दर्शक उपस्थित थिएँ। जहाँ नेपाल र पाकिस्तानका पत्रकार र केहि अफिसियल उपस्थित थिए। रंगशालामा उपस्थित भएका स्वयमसेवकले भने नेपालको नाम लिने बित्तिकै आक्रमक मिडफिल्डर रोहित चन्दको नाम लिन्थे।
यता तेक्वान्दोमा पनि नेपालले सोचे अनुरुप नतिजा आएन। पुम्सेमा प्रतिस्पर्धा गरेका कलम श्रेष्ठ र पार्वती गुरुङ चाइनिज ताइपेहका खेलाडीसँग पराजित भए। यस्तै महिला टिम इभेन्ट्मा पनि नेपाली टिमको यात्रा क्वार्टरफाइनलमा सकियो। नेपालका प्रशिक्षक दिपक विष्ट पहिलो चरणका बलियो मानिएको चाइनजित ताइपेहसँग राम्रै खेलेको बताए।
यस्तै कुस्तीमा पनि नेपाली खेलाडीको उपस्थिति फिक्का रह्यो। नेपालका सरोज यादव, भागवत साह तेली र सुरेश चुनारा पहिलो चरणबाटै बाहिए। योसँगै कुस्तीमा नेपालको चुनौती समाप्त भयो। यो प्रतिस्पर्धा हेर्न खेलकुद मन्त्री जगतबहादुर विक र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट पनि उपस्थित भएका थिए। तर नेपाली खेलाडी १ मिनेट पनि रिङमा टिक्न नसक्दा उनीहरु निराश भए।
पालेङबाङमा भएको सुटिङको मिक्स टिममा नेपालको प्रदर्शन खराब रह्यो। सुस्मीता नेपाल र सुसे चौधरी सहभागी २२ मध्ये अन्तिमा रहेपछि प्रारम्भिक चरणबाट बाहिरिए।
पालेङबाङको अर्को खेलमा टेनिसको प्रतिस्पर्धा भएको थियो। जसमा पुरुष एकलमा संरक्षकभूषण बज्राचार्य र अभिषेक बास्तोला पराजित भए। यस्तै महिका र मायंका राणाको चुनौनी पनि पहिलो चरणमै सकियो।
कबड्डीमा पनि नेपालले खराब सुरुवात गर्यो। आयोजक इन्डोनेसियाविरुद्धको खेल नेपालले २९-३३ ले पराजित भयो।
पहिलो दिन नेपाललाई सुखद् नजिता दिने खेल ब्याडमिन्टन भयो। ब्याडमिन्टनको टिम इभेन्टसमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्यो। अब नेपालले अन्तिम ८ मा चाइनिज ताइपेहसँग सोमबार प्रतिस्पर्धा गर्नेछ। महिला टिम इभेन्ट्समा भने नेपाललाई माल्दिभ्सले ३-२ ले हरायो।
दिनको अन्तिम खेलमा नेपालले उसुमा प्रतिस्पर्धा गरेको थियो। सान्सोको ५२ केजीमा नेपालकी जुनी राई भियतनामकी खेलाडीसँग २-० ले पराजित भइन्।
एसियाका ४५ राष्ट्र सहभागी एसियाडको दोस्रो दिन १३ देशले पदक जितिसकेका छन्। जसमा चीनले ७ स्वर्ण, ५ रजत र ४ कास्य जितेर पहिलो दिन नै अग्रता लिएको छ। जापानले ३ स्वर्णसहित १२ पदक, दक्षिण कोरियाले २ स्वर्णसहित ९ पदक जितेको छ। आयोजक इन्डोनेसिया,चाइनिज ताइपेह, थाइल्यान्ड, काजकिस्तान र मंगोलिया पनि स्वर्ण जितिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।