काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य ज्यान मुद्दामा गरेको एक आदेशमा यस्तै अवधारण देखिएको कानुनविद्हरुको तर्क छ।
मधेस आन्दोलनका क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा अभियोग लागेका व्यक्तिहरुका बीचमा पनि जिल्ला अदालत महोत्तरीले भेदभाव गरेको छ। एकै अभियोग लागेका तत्कालीन मधेसी मोर्चाका नेता (पहुँचवाला) हरुलाई सामान्य धरौटीमा र सामान्य कार्यकर्तालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको छ।
एकै अभियोग र एउटै आरोपपत्र लागेका राज्यमन्त्री, पार्टीका महासचिव र मेयरले सामान्य तारेखमा रिहा हुने आदेश प्राप्त गरे भने सामान्य कार्यकर्ता भने पुर्पक्षका लागि थुनामा जान बाध्य भए।
भदौ १ गते जिल्ला अदालत महोत्तरीले जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
साउन २८ र २९ गते सोही मुद्दामा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे साधारण तारेखमा रिहा भएका छन्।
मन्त्री, मेयर र राजपा महासचिवलाई साधारण तारेखमा छाडिएको दुई दिनपछि महोत्तरी जिल्ला अदालतमा कापड हाजिर भएका थिए। आफ्ना नेताहरु बिनाधरौटी रिहा भएपछि उनी पनि सोही नजीरका आधारमा छुट्ने ढुक्क भएर जिल्ला अदालतमा आफ्ना वकिलमार्फत निवेदन दिए। उनी बिहीबार अदालतमा हाजिर भएका थिए। तर जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले थुनछेक बहसपछि विकको हत्यामा कापडको प्रत्यक्ष संलग्न देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। उनश्र जलेश्वर कारागार चलान भएका छन्।
उच्च अदालत जनकपुरले साउन १५ गते असइ विकको हत्याको आरोपमा फरार रहेकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेपछि आरोपितहरु अदालत उपस्थित हुन थालेका थिए। विगत ३ वर्षदेखि फरार रहेका उनीहरुको नाममा तत्काल पक्राउ गर्न परमादेश जारी भएपछि उनीहरु बाध्य भएर अदालत उपस्थित भएका थिए।
अदालतको आदेशपछि सामाजिक विकासमन्त्री शर्मा, जलेश्वर नगरपालिकाको मेयर मिश्र, राजपा महासचिव पाण्डे र कापड क्रमिकरुपमा अदालतमा हाजिर भएका थिए।
असइ विकको हत्यामा २८ जनालाई आरोपी बनाइएको थियो। जसमध्ये २१ जना अभियुक्त प्रहरीको फरार सूचीमा छन्।
हेटौंडाबाट शुक्रबार बिहान महोत्तरी जाँदै गरेका असइ थमनबहादुर विकलाई तत्कालीन समयमा आन्दोलनकारीले कुटपिट गरेका थिए। कुटपिटबाट उनको टाउकोमा चोट लागेको थियो। विकको टाउकोमा १६ टाँका लगाइएको थियो भने शरीरभर निलडाम थियो।
२०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी जाँदै गरेको अवस्थामा उनीमाथि मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरेका थिए। विकलाई हेटौंडाबाट एक साथीले मोटरसाइकलमा राखेर महोत्तरी लिएर जाँदै थिए। उनलाई प्रदर्शनकारीले लखेटेर आक्रमण गरेका थिए। प्रदर्शनकारीले लखेटेपछि विक ज्यान जोगाउन पोखरीमा हामफालेका थिए। पोखरीमा हामफालेका विकलाई प्रदर्शनकारीले पोखरीबाट झिकेर निर्घात कुटपिट गरे। विकको साथमा रहेको मोबाइल, पर्स र केही नगदसमेत प्रदर्शनकारीले लुटेका थिए।
उनलाई पछि जलेश्वर अस्पताल लगिएको थियो। तर उनको त्यहाँ उपचार हुन नसकेपछि अस्पताल लैजाने क्रममा पुनः आन्दोलनकारीले महोत्तरी गाविसको अनैठा गाविसमा उनी रहेको एम्बुलेन्समा आक्रमण गरे। उनलाई एम्बुलेन्सबाट निकालेर निर्घात कुटियो र उनको त्यहीँ ज्यान गएको थियो। उनलाई कुटेर मारेपछि आन्दोलनकारीले उनलाई ल्याइएको एम्बुलेन्समा समेत आगजनी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।