काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिबद्धता जनाएकाले संविधानविरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई सचेत गराएका छन्।
सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेवार राजनीतिक दलले संविधानविरोधी भाषा बोल्न नैतिकताले नदिने बताए। उनले संविधानप्रतिको इमानदारी देखाउन पनि आग्रह गरे।
राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवसको अवसरमा आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शक्तिको उन्माद र स्वार्थको घेराभित्र रहेको संविधानको बर्खिलाप हुनेगरी मौसमी कुरा नगर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे। 'कहिले एउटा न्यायाधीशमाथि झोँक चल्यो भने दुर्वासा ऋषि रिसाए जस्तो गरेर उफ्रिएर महाअभियोगको प्रस्ताव राख्दिन्छौं, कहिले सुनुवाइ समितिको प्रक्रियामा उत्पात सुरु हुन्छ। यो उत्पात समितिको फैसला आएपछि होइन त्योभन्दा अगाडि देखि नै सुरु हुन्छ,' उनले भने, 'के भएको? अचम्म लाग्छ। त्यस हुनाले मौसमी कुरा गर्नु हुँदैन।'
प्रधानमन्त्री ओलीले संविधानमा सहमति जनाइसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारले शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पारे। अहिलेको सरकारले आवेग, उत्तेजना, आग्रह वा शक्तिको दुरुपयोग हुने दृष्टिले काम नगर्ने पनि उनले बताए। प्रतिपक्षी दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको उनको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।