काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १४ दशमलब ०३ अंकले घटेको छ। आइतबार नेप्से परिसूचक ११ सय ९६ दशमलब २९ को बिन्दूमा आइपुगेको छ।
‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब ८५ अंकले घटेर २ सय ५२ दशमलब ५३ अंकमा झरेको छ। आइतबार १ सय ६० कम्पनीको ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। समूहको सेयर मूल्य १ सय ३ दशमलब २६ प्रतिशतले घटेको छ। त्यस्तै जीवन बिमा कम्पनीको सेयर मूल्य ६४ दशमलब ८६ अंकले घटेको छ। जलविद्युत् समूह २३ दशमलब ४३ अंकले घटेको छ।
आइतबार कारोबार रकमको आधारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था अगाडि रहेको छ। कम्पनीको ३ करोड ४५ लाख ७६ हजार ३ सय ४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै ओम डेभलपमेन्ट बैंकको २ करोड ४९ लाख १५ हजार २४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सर्वाधिक कमाउनेमा खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले बढेर १ सय ११ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै स्वरोजगार लघु वित्त विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले बढेर प्रतिकित्ता ८ सय रुपैयाँमा कारोबार रोकिएको छ।
यता सर्वाधिक गुमाउनेमा नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँले घटेर १ हजार ४१ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै आइसिएफसी फाइनान्सको सेयर मूल्य ९ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।