जाकर्ता– एसियाली खेलकुदअन्तर्गत कुस्तीमा पनि नेपालका खेलाडी पराजित भएका छन्। पुरूष ५७ केजी फ्रिस्टाइलमा नेपालका भागवत साह तेली पराजित भएका हुन्। उनलाई इरानका अट्रिनाघर्ची राजाले १०–० को फराकिलो अन्तरले पराजित गरेका हुन्।
पहिलो चरणको खेलमै राजाले १० अंक जोडेपछि उनलाई स्वतः विजयी घोषणा गरिएको हो। राजाका विरुद्धमा तेली मात्र २ मिनेट ६ सेकेन्ड मात्रै रिङमा टिक्न सकेका थिए।
त्यस्तै ६५ केजी तौल समयमा सरोज यादव पनि पहिलो चरणमै पराजित भए। उनी मंगोलियाका ब्याटमग्नाइ बात्चुलुनसँग १०–० ले नै पराजित भए। खेलमा बात्चुलुनका अघि यादव निकै कमजोर सावित भएका थिए। उनी १ मिनेट १३ सेकेन्ड मात्र रिङमा टिक्न सके।
त्यस्तै, ७४ केजी फ्रिस्टायलमा पनि नेपाल पराजित भएको छ। सुरेश चुनाराले जापानका फुजीनामी युहीसँग १०–० कै फराकिलो अन्तरमा हार व्यहोरे। जापानका युहीसँग चुनारा १ मिनेटसम्म पनि रिङमा टिक्न सकेनन्।
कुस्तीमा तिनै जना खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन्।
यसअघि भएका खेलमा ब्याडमिन्टनतर्फको टिम इभेन्टमा नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। राउन्ड अफ सिक्सटिन अन्तर्गत पुरुष टिम इभेन्ट्सतर्फ आज भएको समूह चरणको खेलमा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो।
नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ सहभागी थिए।
उता महिला टिम इभेन्ट्सतर्फ भने नेपाली टोली पराजित भएको छ। समूह चरणको खेलमा नेपाललाई माल्दिभ्सले ३–२ सो सेटमा पराजित गरेको हो। नंगसाल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी रहेको टोली माल्दिभ्सका खेलाडीसँग हार्न पुगेका हुन्।
आजै भएको तेक्वान्दोतर्फका दुवै एकल स्पर्धामा नेपालका खेलाडी पराजित भएका थिए। राउन्ड अफ सिक्सटिनको खेलमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ दुवै जना चाइनिज ताइपेहका खेलाडीसँग पराजित भएका प्रशिक्षक दिपक विष्टले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।