काठमाडौं– सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म 'गोपी' आइतबारबाट छायांकनका लागि 'फ्लोर'मा निस्किएको छ। विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्मको काठमाडौंको टोखाबाट छायांकन सुरु गरिएकाे हो।
निर्देशक तामाङका अनुसार ३० दिन लामो 'सुटिङ' तालिका भएको फिल्मको ९५ प्रतिशत काठमाडौं र बाँकी भागकाे छायांकन भने काभ्रेमा गरिने छ। आइतबारबाट सुरु भएको फिल्मको पहिलाे चरणाकाे छायांकनमा अभिनेता विपिन भने सहभागी भएका छैनन्।
फिल्म 'फ्लोर'मा जानुभन्दा केही दिन अघि मात्र ‘गोपी’ टिममा समावेस भएका विपिनको सुटिङ भने सोमबार बाट मात्र सुरु हुने छ। यसअघि भदौ १ गतेबाट फ्लोरमा जाने भनिए पनि कलाकार परिवर्तन र अन्य विविध समस्याका कारण 'गोपी' टिम भदौ ३ बाट मात्रै छायांकनमा जान सफल भएको हो।
फिल्मको निर्माण घोषणादेखि छायांकनको अन्तिम तयारीसम्म फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको अभिनय निश्चित थियो। तर 'क्रिएटिभ डिफ्रेन्सेस' अर्थात 'सृजनात्मक मतभेद'का कारण फिल्ममा अभिनेता खगेन्द्र अटाउन सकेनन्।
त्यसैगरी, फिल्मबाट अभिनेत्री वर्षा शिवाकोटी पनि सुरुमा भनिएको 'वनलाइन स्टोरी'सँग अपेक्षित 'क्यारेक्टर' प्राप्त नभएको भन्दै बाहिरिएकी थिइन्। यसरी खगेन्द्र र वर्षाको स्थानमा विपिन र वर्षाको आगमनपछि फिल्म युनिट पूर्वनिर्धारित कार्ययोजना अनुसार छायांकनमा जान सफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।