काठमाडौं– संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेलगत्तै घर बिदामा बसेका न्यायाधीश दिपकराज जोशीले आफूले राजिनामा दिने कुनै कारण नभएको जिकीर गरेका छन्।
नेपाल लाइभसँग विशेष कुराकानी गर्दै जोशीले संवैधानिक परिषदको बैठकमा बाधा नहोस् र अदालतको नियमित कार्यभन्दा केही दिन पर बस्न मन लागेकाले मात्र आफू बिदामा रहेको तर्क गरे।
‘राजिनामा दिने मेरो कुनै मनस्थिति छ कि छैन?’ नेपाल लाइभको प्रश्नमा उनले भने ‘मैले किन राजिनामा दिन पर्यो? न्यायसम्पादका केही कार्य अझै बाँकी नै छन्, बिदापछि फर्किन्छु।’
‘संसदीय सुनुवाई समितिले त प्रधानन्यायाधीशका लागि अस्वीकार गरेको छ नि?’ भन्ने प्रश्नमा आफूले टिप्पणी गर्नु आवश्यक नभएको उनले बताए। प्रधानन्यायाधीश सिफारिस गर्ने निकाय संवैधानिक परिषद भएकाले उसको निर्णय के हुन्छ, त्यसपछिमात्र भावी योजनाका विषयमा आफूले निर्णय गर्ने उनको भनाई छ । संवैधानिक परिषदको बैठक तत्काल बस्ने योजना नदेखेपछि थप ६ दिन बिदामा बस्ने भएकाले राष्ट्रपति समक्ष पत्र लेखेको उनले बताए।
‘प्रधानन्यायाधीशको रुपमा ओमप्रकाश मिश्र तपाईभन्दा माथि आए के गर्नुहुन्छ?’ भन्ने प्रश्नमा उनले भने ‘यस विषयमा अहिले केही पनि सोचेको छैन । संवैधानिक परिषदको निर्णयपछि सोचाैँला।’
संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि १५ दिन बिदा बसेका न्यायाधीश जोशीले आइतबार थप ६ दिन बिदा लिएका छन्। साउन २० गतेबाट बिदामा बसेका जोशीको आइतबार बिदा सकिएसँगै उनले थप ६ दिन ‘भैपरी आउने’ बिदा लिएका हुन्। संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने उल्लेख छ।
जोशीको अनुपस्थितिमा ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा मुद्दाको पेशी तोक्नेदेखि प्रधानन्यायाधीश उपस्थित हुनुपर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन्।
तर जोशीले पनि आफूलाई कायममुकाय रहेको दाबी गर्न छोडेका छैनन्।
सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा छन्। अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म जोशी काममा फर्किए उनी नै कामू प्रधानन्यायाधीशमा यथावत् हुने संविधानको व्यवस्था छ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्वीकार गरेको थियो। संसदीय समितिले प्रधानन्यायधीशका लागि अस्वीकार गरेकाले न्यायाधीश रहिरहनु योग्य हुने/नहुने नैतिक प्रश्न जोशीमाथि तेर्सिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।