काठमाडौं– यही भदौ १४ र १५ गते काठमाडौंमा हुन गइरहेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) बैठकका लागि ‘भिभिआइपी’लाई ‘बुलेटप्रुफ’ गाडी भाडामा उपलब्ध गराउन सरकारले २ करोड रुपैयाँ निकासा गरेको छ।
काठमाडौंमा हुन गइरहेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुने मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुख लगायतलाई बुलेट प्रुफ गाडीसमेत उपलब्ध गराउन उक्त रकम निकासा गरिएको हो।
भैपरी आउने साधारण, प्रशासन खर्चअन्तर्गत उक्त रकम रकमान्तर गरी निकासा गरिएको छ।
अहिले सरकार उक्त बैठकको तयारीमा जुटिरहेको छ। बैठकमा नेपालसहित बिमस्टेक सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सहभागी हुनेछन्।
यसअघि गत बैसाखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा करिब ६ करोड रुपैयाँ खर्च भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।