काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्।
राष्ट्रिय सूचना दिवशका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
सन्देशमा प्रधानमन्त्री ओलीले सूचनाको हकको विषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान पनि गरेका छन्। प्रधानमन्त्री ओलीले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताए।
‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउँछु।’, प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तव्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन्। सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित विषयमा सूचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
वर्तमान सरकार पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहिताको संस्कृतिमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘सुशासनलाई मजबुत बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ।’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।