काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण गरेका छन्। निरीक्षणपछि उनले शान्ति सुरक्षामा ध्यान दिई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन्।
केही दिनयता उनले नियमित जसो निरीक्षण गर्न थालेका छन्।
विगत ६ वर्षदेखि रोकिएको निरीक्षण हालै सुरु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्रबारको प्रहरी बुलेटिनमा भनिएको छ,‘प्रहरी, सेनाजस्ता सुरक्षा निकायमा अनुशासन, चुस्तता, कार्यालय व्यवस्थापन, वैज्ञानिक अभिलेख व्यवस्थापन, अपरेशनल गतिविधिमा सक्रियता लगायतका लागि निरीक्षण महत्त्वपूर्ण हुने गर्दछ । सुरक्षा सङ्गठन चलायमान, योजनावद्ध तरीकाले सञ्चालन, सुदृढ र जनशक्ति सक्षमताका लागि राम्रोलाई प्रोत्साहन र नराम्रोलाई कारवाही गरी तत्काल सुधार गर्न निरीक्षण आवश्यक हुन्छ । अन्य देशका सुरक्षा निकायमा पनि सङ्गठनलाई व्यवसायिक र जीवन्त राख्न यस्ता निरीक्षण हुने गर्दछन्।’
प्रहरी कार्यलाई चुस्त दुरुस्त राख्न सङ्गठन प्रमुखबाट प्रत्यक्ष निरीक्षण तथा निर्देशन हुनुपर्ने मान्यताअनुरुप प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग, महाशाखा, शाखालगायत उपत्यका तथा उपत्यका बाहिरसमेत विभिन्न प्रहरी कार्यालयको निरीक्षण सुरुवात भएको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीले बताए।
प्रहरी महानिरीक्षक खनालले हालसालै मात्र प्रहरी प्रधान कार्यालय परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, विपद व्यवस्थापन महाशाखा, सामाखुशीस्थित महानगरीय प्रहरी वृत्त, बालाजु, महानगरीय प्रहरी वृत्त, सिंहदरबार, सङ्गीत विद्यालय महाराजगञ्ज, सशस्त्र प्रहरी गण नम्बर १ नक्साल, नेपाल प्रहरी विद्यालय सामाखुसी, नेपाल प्रहरी विद्यालय साँगा काभ्रे, ईलाका प्रहरी कार्यालय टाँडी, चितवन, वडा प्रहरी कार्यालय नारायणगढ, चितवन, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवन लगायत नेपाल प्रहरी अस्पताल समेतको निरीक्षण गरी प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका लागि अभिप्रेरित गर्नुका साथै निर्देशन दिएका छन्।
“सम्पूर्ण प्रहरी कर्मचारीलाई नजिकबाट वुझ्ने, उनीहरूको कामको स्तर हेर्ने, कुनै त्रुटी भए हटाई तत्काल सुधार गर्ने उद्देश्यले सङ्गठन प्रमुखबाट निरीक्षण भएको हो ।” प्रहरी प्रवक्ता एसएसपी थापा भन्छन्, “कानून कार्यान्वयन, अपराध अनुसन्धान तथा रोकथाम, कानूनी राज्यको स्थापना, मानवअधिकारको सम्मानजस्ता प्रहरीका मुख्य जिम्मेवारी पूरा गर्न कार्यालय व्यवस्थापन र कर्मचारीको सक्रियता त्यतिकै चुस्त हुनुपर्छ । सङ्गठन प्रमुखको निरीक्षण यसैको एउटा सुरुवात हो ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।