इटहरी- साउन २८ गते दिदीको छोराको जन्मदिन थियो। जन्मदिन मनाउने योजनाबारे अघिल्लो रात लामै छलफल चल्यो। दिदी आशादेवीले सानुमाया राईलाई भनिन्, 'तेरो छोराको जन्मदिन, तेरै इच्छा अनुसार मनाउनुपर्छ।’
बाहिर मुसलधारे वर्षा भइरहेको थियो। त्यसैलाई मिठो धुन मानेर उनीहरु छलफलमै जागा थिए।
भिनाजु राजकुमार राई मौन भएर सुनिरहेका थिए। छोरी कमला र छोरा निशान र निमेष पनि उनीहरूको गफमा मग्न थिए। रातको ११ बजेतिर उनीहरुका आँखा लोलाए। र, आ–आफ्नो बिछ्यौनातिर लागे।
सानुमायालाई त्यस दिन किन हो कुन्नि निद परेन। उनी फिल्म हेर्ने तयारीमा लागिन्। छोरी कमला पनि उनीसँगै फिल्म हेर्दै सुत्ने भइन्। अरू बेला भुइँमा सुत्ने कमला त्यस दिन सानुमायासँगै खाटमा सुतिन्। दिदी भिनाजू र छोराहरू पनि सुतिसकेका थिए। अरू दिन बत्ती बालेर सुत्ने दिदी भिनाजु त्यस दिन भने बत्ती निभाएर सुतेका रहेछन्।
रातको साढे ११ बजेको हुँदो हो। कताकता हिलो गन्हाए जस्तो लाग्यो सानुमायालाई। फिल्म हेरिरहेको बेला उनलाई भुइँतिर हेर्ने फुर्सदै भएन। लाग्यो– घर नजिकै भएर बग्ने बुढी खोलामा ठूलै बाढी आयो क्यार।
केहीछिनमै उनले बाहिर होहल्ला जस्तो सुनिन्। के रहेछ भनेर बाहिर निस्कन लाग्दा खुट्टा चुर्लुम्म घुँडासम्म डुब्यो। वरिपरि पानीले घेरिसकेको रहेछ।
घरबाहिर निस्कन सक्ने अवस्था थिएन। भित्र पनि बाढी बढ्दै गइरहेको थियो। 'विकल्पको रूपमा घरको सिलिङमा झुन्डिनुपर्ने बाध्यता बन्यो,’ एक वर्षअघिको कहालीलाग्दो घटना सुनाउँदै इटहरीको गैह्रीगाउँकी सानुमाया राईले भनिन्, 'बाँसको घर भएकाले घरले पनि बाढी थेग्न सकेन। भत्कियो। बुढी खाेलाबाट आएको बाढीले बगाउँदै हामीलाई बाहिर निकाल्यो।' त्योबेला उनको हातमा मोबाइल भने छुटेको थिएन।
उनले दाइ र उनले पढाउँदै आएको स्कुलको स्टाफलाई फोन गरिन्। त्यतिन्जेलमा उनी बगिसकेकी थिइन्। छोरा निमेष र भिनाजु घरभित्रै रहेको उनलाई याद छ।
त्यसपछि के भयो, उनलाई केही थाहा छैन।
दिदी र उनी केही समयसम्म सँगै थिए। बाहिर चिच्याहटको कर्कश आवाज सुनिन्थ्यो– बचाऊ! बचाऊ! तर कसले कसलाई बचाउने। सबै आफू बाँच्नका लागि सङ्घर्ष गरिरहेका थिए।
लगभग आधा घन्टा उनी घर अगाडिको बयरको रुख समातेर बसिरहिन्। बाढीको वेग झन् उर्लिरहेको थियो। उनले पनि धेरै पटक गुहार त मागिन् तर कसले सुन्ने आवाज। नजिकैको त्यही बयरको बोटले मात्रै सुन्थ्यो।
मुसलधारे वर्षासँगै भेल बढ्यो। सानुमायाको साक्षी त्यही बयरको बोट पनि हेर्दाहेर्दै बाढीमा मिसियो र बग्न थाल्यो। सानुमाया एकातिर, दिदी अर्कातिर बग्न थाले। उनलाई भने ठूलो भेलले मुख्य भँगालोतिर हाल्यो।
विगतमा कहिल्यै खोलामा नखेलेकी सानुमाया त्यस दिन भेलमा तैरनुपर्ने भयो। उनकै शब्दमा रातको १२:३० बजेतिर ठूलो भेलमा पुगेकी थिइन्। त्यस बेला उनले आज बाचिँदैन भन्ने सोचिसकेकी थिइन्। 'घरमा भएकी आमा, दाजुसँगै बगेकी दिदी र घरभित्रै पुरिएका भिनाजु र छोरालाई सम्झँदै बगिरहेँ,' उनको आँखामा अहिले पनि सम्झिँदा बाढी उर्लिन्छ।
भेलले कहिले खोँचमा पुर्याउथ्यो, कहिले मुढाले टाउकोमा हिर्काउँथ्यो। कहिले घुमाउरो ठाउँमा लगेर घुमाइरहन्थ्यो। कहिले भित्तामा कहिले छेउमा।
पानी भन्नेबित्तिकै डराउने सानुमायाको लागि भेलको सामना गर्नैपर्ने थियो। घर परिवार सम्झिएर पनि केही लागेन। 'बराहक्षेत्र भगवान् र छिन्ताङ देवीसँग भाकल नै गरेँ त्यो बेला,' उनले सुनाइन्, 'मलाई कसरी तैरिने भन्ने मात्र सोच भयो। केही तल पुगेपछि जिउ छाडेर पानी माथि टाउको निकाल्न खोजे त्यसो गर्दा केही सहज भयो।’
रातभरि उनले त्यसै गरिन्। कुनै मुढा नजिक आयो भने त्यसैमा समात्ने कोसिस जारी रहिरह्यो।
आँखा खोल्न सक्ने अवस्था थिएन। बोल्ने अवस्था झन् के होओस्। मुखभित्र पानी पर्छ भनेर गुहार समेत नभनेको बताउँछिन् उनी। तैरिन जानिसकेपछी उनको मनमा कताकता साहस पलायो। अब त मर्दिनँ भन्नेमा विश्वस्त भइन्।
बग्दाबग्दै उज्यालो भइसकेको थियो। 'बिहानको ६ बजेतिर भेलले किनारामा धकेल्यो। त्यहीँ एउटा रुख पनि अभर परिरहेको रहेछ। त्यही रुखको हाँगा समाउन पुगेँ,' एकछिन रोकिएर उनले सुनाइन्, 'दैवसन्जोग, दुई जना नजिकै देखेँ। बचाऊ भनेर चिच्याएँ तर उनीहरु त भूत भन्दै त्यहाँबाट भागे।'
दाउराको खोजीमा निस्केका मुसहर बस्तीका युवाहरू रहेछन् ती। सानुमायाको मन खिन्न भयो। केही समयपछि अर्का एक युवालाई उनले नजिकै देखिन्। फेरि पनि बचाऊ! बचाऊ! भनिन्। तिनै युवा अनिल ऋषिदेवले उनलाई हात समातेर ताने।
'त्यो बेला मलाई भगवान्ले नै समाए जस्तो लाग्यो,’ उनी भन्छिन्, 'भगवान् भनेको मन्दिरमा मात्र नहुँदो रहेछ। कहिलेकाहीँ मान्छे नै भगवान् बन्दा रहेछन्।’
उनी आफू त बाँचिन्। तर घरमा दिदी भिनाजु र छोरा छोरीको हालत के होला? भन्ने उनलाई पिर पर्न थाल्यो। दुहबीको सामुदायिक अस्पतालमा उपचारपछि उनी सामान्य अवस्थामा आइन्। तर दिदी, भिनाजु र सानो तीन वर्षको छोरा संसारबाट बिदा भएको खबरले उनीमाथि बज्रपात भयो।
छोरी कमला र छोरा निशान छिमेकीको घरमा रहेको खबर पाइन्। तर भिनाजु र छोरा निमेष कहाँ छन्? अझैसम्म केही अत्तोपत्तो छैन।
करिब ७ घन्टा भेलमा बगेर पनि बाँच्न सफल भएको भन्दै विभिन्न संस्थाले उनलाई सम्मान गर्न थाले। निशान र कमलालाई एसओएस बालग्रामले पढाइदिने जिम्मा लियो। विभिन्न संस्थाको सहयोगमा सोही स्थानमा उनले आफै घर बनाइन्।
पीडा भुलाउन अनेक प्रयास गरिन्। बिएड दोस्रो वर्षमा अध्ययनरत छात्रा हुन् सानुमाया। कलेज पनि गइन्। तर दिदी, भिनाजु र छोराको अभावले उनलाई सताइ नै रहेको छ।
अभावले जिउन सिकाउँछ, अफ्ठ्यारोले जीवन सिकाउँछ भने जस्तै आफूले जिन्दगी सिकेको बताउँछिन् उनी। मन भुलाउन अनेक प्रयास गरिन्। कागज काटेर फूल बनाउनेदेखि विभिन्न सजावटका सामाग्री बनाउन थालिन्।
अहिले उनको कोठामा उनैले बनाएका फूलहरू सजिएका छन्। घर वरिरि फूल रोपेकी छिन्। पहिला केही सिप नभएकी सानुमाया अहिले सजावटका आकर्षक सामाग्री तयार पार्न सिपालु छिन्।
एक वर्ष अघिको घटना सम्झिएर उनको गह भरिन्छ। जब छोराको जन्मदिनको कुरा आउँछ, उनी बोल्न सक्दिनन्। केवल आँखाबाट बगिरहन्छ उस्तै भेल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।