जाकार्ता (इन्डोनेसिया)– १८औं एसियाली खेलकुद (एसियाड) मा नेपालले आइतबार ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्दैछ। पुरुष टिम इभेन्ट्समा नेपालसहित १३ टिमले सहभागिता जनाउँदैछन्। चीन, चाइनिज ताइपेई र भारत सिधै क्वार्टरफाइनलमा पुगिसकेका छन्।
नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दैछ। खेल जाकार्ताको बुङकार्नाे रंगशालाको इस्टोरा हलमा हुनेछ। पाकिस्तानसँग नेपालको स्तर समान भएकाले जितका लागि खेल्ने ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठले बताए। ‘हामीले राम्रो तयारी गरेका छौं। पाकिस्तान हाम्रै स्तरको टिम भएकाले हामीले जितका लागि खेल्नेछौं।’
आइतबार जित हात पार्न सके नेपाल क्वार्टरफाइनलमा पुग्नेछ। ‘अघिल्लो एसियन गेम्समा पनि हामी क्वार्टरफाइनलमा पुगेका थियौ। यसपटक पनि पहिलो लक्ष्य क्वारर्टरफाइनल हो। जित निकालेपछि हामी अर्काे खेलको तयारी गर्नेछौं,’ विकासले भने।
ब्याडमिन्टनको टिम इभेन्ट्समा विकाससहित रत्नजित तामाङ, नवीन श्रेष्ठ र दिपेश धामी छन्। टिम इभेन्ट्समा भाग लिएका १३ टिममध्ये नेपाल १०औं वरीयतामा छ।
यता नेपालले आइतबार नै महिला टिम इभेन्ट्समा खेल्दैछ। महिलामा नेपालको पहिलो खेलमा माल्दिभ्ससँग छ। माल्दिभ्सविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङसलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन्।
महिला टिम इभेन्ट्समा ११ टिम छन्। जापान, भारत, थाइल्यान्ड र चीन सिधैै क्वारर्टरफाइनलमा पुगेका छन्।
ब्याडमिन्टनको व्यक्तिगत प्रतिस्पर्धा पाँच दिनपछि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।