काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब ५ वर्षपछिको चुनावमा प्रदेश २ का सांसदहरुले पक्की हुलाकी राजमार्गमा मज्जाले दौडेर प्रचार गर्न सक्ने बताएका छन्।
शनिबार प्रदेश २ को संसदमा सम्बोधन गर्दै उनले सहरी विकास मन्त्रालयले सम्पूर्ण बजेको ७० प्रतिशत तराई मधेसको लागि छुट्याएको जानकारी दिए।
'हुलाकी सडकको निर्माणमा हामी तिब्रता दिँदैछौं। बढीमा ५ वर्षमा यस प्रदेशमा हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न भइसक्छ', प्रधानमन्त्रीले भने, 'अर्को पल्ट यहाँहरु चुनावमा हिँड्दा हुलाकी सडकमा मज्जाले दौडिन सक्नुहुन्छ। पक्की बाटोमा। त्यो स्थिति बन्छ।'
उनले प्रदेश २ भाग्यमानी भएको समेत बताए। 'यो प्रदेश यति भाग्यमानी छ कि रेल पनि यसैबाट कुद्छ, गाडी पनि यसैबाट कुद्छ। राजमार्ग पनि यसैमा छ। हुलाकी राजमार्ग पनि यहीँ छ। कलकत्ता जाने पानी जहाज पनि यही प्रदेशबाट हिँड्छ', उनले भने।
प्रधानमन्त्रीले प्रदेश २ लाई पवित्र र ज्ञानभूमि बताए। उनले यो प्रदेशका मानिसहरुको आस्था र विश्वास प्रगाढ भएको बताए। 'यो पौराणिकता, ऐतिहासिकता, धार्मिकताको भूमि हो', प्रधानमन्त्रीले भने, 'म नमन गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।