एजेन्सी- पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको बाइसौँ प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन्। विगत दुई दशकयता पाकिस्तान–तहरीक–इ-इन्साफ (पीटीआई) नामक राजनीतिक दल खोली सक्रिय राजनीतिमा होमिएका पूर्व क्रिकेटर खानको पार्टीले गत जुलाइ महिनामा भएको निर्वाचनमा बहुमत प्राप्त गरेको थियो। गत शुक्रबार पाकिस्तानको तल्लो सदन 'नेशनल एसेम्ब्ली'मा भएको मतदानमा प्रधानमन्त्री चुनिएका खानले राष्ट्रपति ममनुन हुसेनसमक्ष राष्ट्रपति भवनमा प्रधानमन्त्रीको सपथ लिएका हुन्। कुरानको पाठ गर्दै उनको शपथ कार्यक्रम शूरु भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेका छन्।
गत शुक्रबार तल्लो सदनमा भएको निर्वाचनमा उनले बहुमत प्राप्त गरेका थिए। उनले १ सय ७६ मत प्राप्त गरेका थिए। उनका विपक्षी उम्मेद्वार मुस्लीम लिग नवाज पार्टीका अध्यक्ष शवाज शरीफले ९६ मत मात्र प्राप्त गरे।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदलाई सम्बोधन गर्दै उनले भ्रष्ट राजनीति नियन्त्रण गर्ने र युवाका लागि अवसर सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 'सर्वप्रथम त हामी सरकारी निकायलाई जवाफदेही बनाउने प्रतिवद्ध छौँ। जसले यो राष्ट्र लुटेका थिए उनीहरुलाइ उत्तरदायी र जवाफदेही बनाउन म इश्वरका नाममा प्रतिवद्धता व्यक्त गर्दछु’. ‘म निरकूंशताको अभ्यास गर्ने छैन, विगत २२ वर्षदेखिको कडा परिश्रमले मात्र म यो स्थानसम्म आइपुगेको हुँ’ उनले प्रजातन्त्रका पक्षमा काम गर्ने विश्वास दिलाएका थिए।
निर्वाचन अघि देखि नै आफ्नो मुख्य एजेन्डा भनेको अर्थतन्त्र सुधार गर्नु भएको उल्लेख गरेका थिए । गत वर्ष पाकिस्तानी मुद्रामा उल्लेख्य गिरावट आएकाले अर्थतन्त्र कमजोर भएको र देशको व्यापार घाटा उल्लेख्य रुपमा बढेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।