बेइजिङ- चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जबरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन्।
उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन्।
जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्यूनीकरण घटाउन दुई भन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न सुझाव दिइएको छ।
विज्ञहरूको यो सुझावलाई लिएर अहिले चीनभरी पक्ष र विपक्षका तर्क र वितर्क गर्दै बहस चलिरहेको समाचारमा जनाइएको छ।
कम्युनिस्ट पार्टीले लागू गरेको ‘एक सन्तान’को नारा सहितको परिवार नियोजनसम्बन्धी नीतिका कारण जनसङ्ख्या घटेको कतिपयको भनाइ छ।
विश्वकै सबैभन्दा धेरै जनसङ्ख्याभएको मुलुकमा अहिले जनसङ्ख्या घट्दै गएपछि देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको ठानिएको छ।
लैङ्गिक तथा जनसाङ्ख्यिक असन्तुलन बढेपछि सामाजिक समस्याहरू पनि थपिँदै गएको सरोकारवालाहरूले बताएका छन्।
चीनले जनसङ्ख्या बढ्ने अपेक्षा सहित सन् २०१६ मा कानुनलाई खुकुलो बनाउँदै एकभन्दा बढी सन्तान जन्माउन सकिने व्यवस्था गरिएको थियो। तर पनि जनसङ्ख्या अपेक्षित रूपमा र आवश्यकता अनुसार बढ्न नसकेको तथ्याङ्कले देखाएको छ। त्यसैले अहिले यसका बारेमा पुनः विचार गर्नुपर्ने अवस्था आएको छ।
उनीहरूले ४० बर्ष भन्दा कम उमेरका दम्पतीले दुई भन्दा कम सन्तान जन्माएमा वा जन्माउँदै नजन्माएमा अरुलाई सहयोग पुर्याउन वार्षिक रूपमा एउटा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरेका छन्।
'जब कसैले दुई वा दुई भन्दा बढी सन्तान जन्माउछन्, तब उनीहरूले सो कोषमा राहत रकमका लागि दाबी गर्न सक्नेछन्,' नान्जीङ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापकद्वय लिउ झिविओ र झाङ येले लेखेका छन्।
क्षतिपूर्ति वा राहत रकम दाबी गर्दा सन्तान जन्माउदा लागेको खर्च वा त्यस क्रममा आम्दानीमा भएको गिरावट उल्लेख गर्नुपर्ने र त्यस वापतको भुक्तानी कोषबाट गर्नु पर्ने व्यवस्था गर्न उनीहरूले सुझाएका छन्।
दुई विज्ञको सुझावहरूलाई लिएर विभिन्न सामाजिक सञ्जालहरू चिनियाँ नागरिकहरूले पक्ष र विपक्षमा बहस गरिरहेका छन्।
उनीहरूको प्रस्तावप्रति व्यङ्ग्य गर्दै एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, 'सरकारले जन्मदर बढाउन चाहन्छ भने बहुविवाहका लागि किन छुट दिँदैन?'रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।