काठमाडौँ- पाकिस्तानी संसदबाट निर्वाचित नयाँ प्रधानमन्त्री इमरान खानले आज शपथ ग्रहण गर्ने भएका छन्।
प्रधानमन्त्री बन्न सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा इमरानले १७६ मत पाएको सभामुख असद क्विजेरले जानकारी गराए।
खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गरेका छन्।
विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्वक्रिकेट खेलाडी इमरानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआई) ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ।
कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ। बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन्।
सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित इमरान अहिले नयाँ सरकार बनाउने तयारीमा छन्।
क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएका खानले क्रिकेटबाट सन्यास लिएर ४३ वर्षको उमेरमा सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।