कर वृद्धिको विरोधमा रुपन्देही कांग्रेस सडकमा

Nepal Live

बुटवल– स्थानिय तहले अनावश्यक रुपमा जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेको विरोधमा रुपन्देही कांग्रेस आन्दोलित भएको छ।

बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म गरेको कर वृद्धि गरेको विरोधमा कांग्रेस आन्दोलित भएको हो।

शुक्रबार कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गर्दै कर वृद्धि फिर्ताको माग गरेको छ। अस्पताललाइनबाट सयौंको संख्यामा सुरु भएको नाराबाजी सहितको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवल उपमहानगरपालिकाको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यालयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्नेगरी गरेको कर वृद्धि बुटवलका जनताले नरुचाएको बताए।

विगतमा १० हजार रुपैयाँ कर तिर्नेले अहिले ३५ हजार रुपैयाँ कर तिर्नु परेको भन्दै पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएको उनको भनाइ थियो।

सभापति पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसँग छलफल विना अत्यधिक कर बढाइएकाले बाध्य भएर सडकमा उत्रिनु परेको स्पष्ट पारे।

‘बढेको कर फिर्ता नलिएसम्म आन्दोलन रोकिँदैन। हामी झन् शशक्त भएर अघि बढ्छौं।,’ पाण्डेले भने, ‘जनप्रतिनिधिलाई धेरै सुविधा चाहिए लोकसेवा पढेर कर्मचारी भएर आउनुपर्छ।’

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठले निर्वाचित जनप्रतिनिधिहरुलाई कर वृद्धि गर्नका लागि नजिताएको धारणा राखे।

हाटबजारमा मकै पोल्नेसँग पनि कर लिइएको भन्दै उनले जनताको सेवक बन्न जनप्रतिनिधिलाइ आग्रह गरे।

अव्यवस्थित बसोबास गर्नेहरुलाई लालपुर्जा वितरण गर्न लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यसप्रति आपत्ति जनाएको कांग्रेसले  बताएको छ।

सोही क्रममा कांग्रेस नेताहरुले बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदीलाइ ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै सुवेदीले बाहिर हल्ला आएजस्तो कर वृद्धि नगरिएको दावी गरे। उनले सबैको सल्लाह र सुझाबसहित आफू अघि बढ्ने आश्वासन दिए।

दीपक घिमिरे

पत्रकार घिमिरे नेपाल लाइभका प्रदेश ५ का संयोजक हुन्

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार