काठमाडौं– नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको लगानीमा ६० मेगावाटको मोदी जलविद्युत आयोजना निर्माण गर्ने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घोषणा गरेका छन्।
नेपाल विद्युत प्राधिकरणको ३३औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पुनले ४२ मेगावाटको उपल्लो मोदी ‘ए’ तथा १८ मेगावाटको उपल्लो मोदी गरी ६० मेगावाट जलविद्युत उत्पादनमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीको लगानी रहने बताएका हुन्।
सबै कर्मचारीलाई बराबर शेयर दिने गरी ६० मेगावाटको मोदी जलविद्युत आयोजना निर्माण गर्ने घोषणा मन्त्री पुनले गरेका छन्।
‘प्राधिकरणका कर्मचारीले अब शेयरका लागि दौडिनु पर्दैन।’, मन्त्री पुनले भने, ‘अब कर्मचारीकै लगानीमा जलविद्युत आयोजना निर्माण गरिने छ। यसमा कर्मचारीको भूमिका महत्वपुर्ण हुन्छ। प्रतिव्यक्ति तीन लाख रुपैयाँ शेयर दिनेगरि एउटा आयोजना नै अघि बढाइदिन्छौ।’
मन्त्री पुनले स्थायी काम गर्ने कर्मचारीले पेन्सन पाए जस्तै काम नगर्ने नेपालीलाई जलविद्युतमा हालेको शेयरबाटै पेन्सन दिने योजना सरकारले बनाइरहेको बताए। आधुनिकीकरणका कारण बुढेसकालमा सहज जीवनयापनकालागि अहिले राम्रो जलविद्युत आयोजनामा शेयर हाल्नुपर्ने उनको भनाइ थियो।
सरकारले राम्रो प्रतिफल दिने आयोजना छनौट गरिसकेको भन्दै पुनले अब निकट भविष्यमै जलविद्युत आयोजनामा सकेजति शेयर हाल्न जनतालाई आग्रह गरेका छन्।
आगामी १० वर्षपछि नेपालमा जल र विद्युत दुवै विषयमा अध्ययन गर्ने विदेशी विद्यार्थी आउने उनको दावी छ।
यस्तै, जल र विद्युत क्षेत्रमा अझ ठूलो क्रान्ति गर्न बाँकी नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। जनता अहिले पनि विद्युतप्रति सकारात्मक भइनसकेको बताउँदै उनले भने, ‘सरकारले प्रत्येक घरपरिवारलाई विद्युतको शेयर होल्डर बनाउन प्रयास गर्नुपर्छ। नेपाली जनताको सवैभन्दा ठूलो धन भनेको जलस्रोत नै हो। जलस्रोतमा सवै नागरिक अश्रित हुनसक्छन्।’
नेपाल विद्युत प्राधिकरणमा ९ हजार स्थायी र ३ हजार ज्यालादारी कर्मचारी रहेका छन्। जलस्रोत क्षेत्रबाट देश र विदेशका गरी करिब ४० हजारले रोजगारी पाइरहेको मन्त्रालयको भनाइ छ।
आर्थिक वर्ष २०७३/०७४ मा प्राधिकरणको ५१ अर्ब ७० करोड रुपैयाँ कुल आय आर्जन भएकोमा आर्थिक वर्ष २०७४/०७५ मा उक्त रकम वृद्धि भएर ६० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलब ९८ प्रतिशत मुनाफा कमाएको हो। चालु आर्थिक वर्षमा ८ सय मेगावट विद्युत थप्ने प्राधिकरणले लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।