काठमाडौं– राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका व्यापारीविरुद्ध मुद्दा दायर भएको छ। भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
उनीविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ। बिगो र जरिवानाको मागदाबीका आधारमा राजश्व अनुसन्धानले चलाएको यो अहिलेसम्मकै ठूलो मुद्दा हो।
गुप्ताले श्रीमतीको नाममा कम्पनी खोलेर कारोबार गर्दै आएका थिए।
हिमालय कार्गाेका संचालक गुप्तालाई गत महिना विभागले पक्राउ गरेको हो। अनुसन्धान पुरा गरी मुद्दा दायर भएको हो।
नेपालगन्ज भन्सार कार्यालयबाट भएको पाउडर दूध तस्करीको अनुसन्धानका क्रममा गुप्तालाई विभागले पक्राउ गरेको थियो। पक्राउ गरी अनुसन्धान गर्दा उनले २ अर्ब भन्दा धेरै राजश्व छलेको खुल्न आएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।
गुप्ता नक्कली कागजपत्रका आधारमा तस्करी गर्ने गिरोहका नाइके भएको मैनालीले बताए। प्रहरीले उनको कार्यालयका मेनेजर अशोक द्विवेद्वीलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ।
अरबौं कारोबार गर्ने गुप्ताले नक्कली प्रज्ञापनपत्र र भ्याट बिल बनाउने गर्दथे।
नेपालगञ्ज भन्सार कार्यालयबाट उनले कर्मचारीकै मिलेमतोमा नक्कली प्रज्ञापनपत्र देखाएर सामान छुटाउने र त्यहाँबाट काठमाडौं ल्याउन नक्कली भ्याट बिल देखाउने गरेको खुलेको छ। तस्करीमा उनलाई सहयोग गर्ने नेपालगञ्ज भन्सार कार्यालयका दुई कर्मचारीलाई अर्थ मन्त्रालयले त्यहाँबाट हटाइसकेको छ।
गुप्ताको बैंक खातामा मात्र विभागले १५ करोड रुपैयाँ फेला पारेको छ। त्यस्तै सतंगुलमा करिब ८ रोपनी जग्गा छ। पछिल्लो दुई वर्षयता उनले राज्यलाई १ रुपैयाँ पनि कर तिरेका छैनन्। आर्थिक वर्ष २०७२/०७३ मा जम्मा ५ हजार रुपैयाँ कर तिरेका थिए।
उनले २० लाख भन्दा थोरै कारोबार गर्ने भनेर फर्म दर्ता गरेका थिए। विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर समेत कारोबार गरेको अनुसन्धानमा खुलेको छ।
प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि विभागले ठूला राजश्व छली गर्ने कम्पनीमाथि अनुसन्धान गरी मुद्दा दायर गरिरहेको छ। विगतमा भत्सार ऐनअनुसार अनुसन्धान हुनेमा अहिले राजश्व अनुसन्धान नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही हुन थालेकाले प्रभावकारी हुन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।