सुखड, कैलाली- ‘छोरी तीन वर्षकी भइन्। नजिकैको विद्यालयमा भर्ना गरेको थिएँ, तर अहिले नगरपालिकाले त्यो विद्यालय अर्को विद्यालयमा गाभिदियो,’ घोडाघोडी नगरपालिका ११ का बलिराम चौधरीले गुनासो गरे, 'अब त्यति टाढाको स्कुलमा छोरीलाई कसरी पठाऊँ?'
बलिरामका अनुसार उनको घरबाट नयाँ स्कुल पुग्न एक घन्टाभन्दा बढी समय लाग्छ।
घोडाघोडी नगरपालिकाले वडा नम्बर ११ मा रहेको दशरथ प्राथमिक विद्यालयलाई वडा नम्बर १० को अमर सहिद आधारभूत विद्यालयमा गाभेको छ। दशरथमा ८५ जना बालबालिका अध्ययन गर्दै आएका थिए।
दशरथमा सो वडाका अम्बासा, भलुवा, सिसैया, वडहनीया, बनकुसरी लगायतका स्थानबाट बालबालिका पढ्न आउने गरेका थिए। स्थानीय गीता कठरियाले गुनासो गरिन्, 'यही दशरथ प्रावि पुग्न त बालबालिकालाई आधा घन्टा लाग्छ भने अमर सहिद पुग्न कम्तिमा एक घन्टा हिँड्नुपर्छ।'
‘कतै खोला छ, कतै कुलो। कलिला बालबालिकालाई वारपार गर्न निकै गाह्रो हुन्छ,’ गीताले भनिन्, 'हाम्रो वडामा एउटा प्रावि आवश्यक छ। नगरपालिकाले विद्यालय मर्ज गर्ने कार्य रोकेर गुणस्तरीय शिक्षामा पो बल गर्नुपर्यो त।'
घोडाघोडी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय समायोजन तथा कक्षा तह मिलान प्रक्रिया अघि बढाएपछि अभिभावक तथा विद्यार्थीहरूको गुनासो बढेको छ। निजी स्रोतका शिक्षक असन्तुष्ट छन्। विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन्।
दशरथ प्रावि मात्रै होइन, अन्य ७ वटा विद्यालय पनि मर्ज गरिएका छन्। त्यस्तै, विभिन्न विद्यालयका कक्षा तह मिलान गरिएको छ। नगरपालिकाका अनुसार वडा नम्बर ५ मा रहेको कालिका आधारभुत विद्यालयको तह घटुवा गरिएको छ। यसलाई प्राविमा घटुवा गरी कक्षा ६ देखि ८ सम्मलाई वडा नम्बर १० मा रहेको कान्ति कान्ति माध्यामिक विद्यालयमा गाभिएको छ।
कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चौधरी विद्यालय समायोजनले विद्यार्थीसँगै शिक्षकलाई पनि समस्या परेको बताउँछन्। सो विद्यालयमा सितलपुर, मटियारी, स्याउकलिया लगायतका स्थानबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका थिए। 'यहाँ विद्यालयमा टाढा–टाढाबाट विद्यार्थीहरू आउँछन्। नगरपालिकाको विद्यालय समायोजन निर्णयका कारण विद्यार्थीहरुलाई विद्यालय पुग्न निकै समय लाग्ने गरेको छ, दुर्घटनाको जोखिम उत्तिकै,' उनले भने।
घोडाघोडी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम आधारभूत तथा माध्यमिक शिक्षालाई गुणस्तर बनाउन विद्यालय समायोजन र तह मिलान गरिएको हो। घोडाघोडी नगरपालिकामा रहेका ५७ वटा सामुदायिक विद्यालयमध्ये ७ वटा विद्यालय समायोजन भएपछि अहिले सामुदायक विद्यालयको संख्या ५० मा झरेको छ। ७ वटा विद्यालय र ७ वटा कक्षा तह मिलान गर्दा २ हजार ६२ जना विद्यार्थी र ५४ जना निजी शिक्षक प्रभावित भएका छन्।
नगरपालिकाको वडा नम्बर २, चित्तलपुरमा रहेको मसानी आधारभूत विद्यालयलाई दशरथ मावि साडेपानीमा समायोजन गरिएको छ। त्यस्तै, वडा नम्बर ४ जनकपुरको मेलघट्टी माविको ९ र १० कक्षा तह घटाएर गणेशपुरस्थित सीताकुण्ड माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ।
नगरपालिकाका अनुसार वडा नम्बर ४ माघीमा रहेको नवप्रभात प्राविलाई राष्ट्रिय लालीगुँरास प्राविमा गाभेर कक्षा ५ सम्म सञ्चालन गरिएको छ।
त्यस्तै, वडा नम्बर ४ शीतलपुरमा रहेको कालिका आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर वडा नम्बर १० पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माविमा व्यवस्थापन गरिएको छ। वडा नम्बर ८ तिलकनगरमा रहेको मोहनी आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर तारानगरमा रहेको राष्ट्रिय माविमा व्यवस्थापन गरिएको छ।
त्यस्तै, वडा नम्बर ८ आमफाटा रहेको अनुग्रह प्राथमिक विद्यालय कक्षा ४ र ५ तह घटाएर राष्ट्रिय माध्यामिक विद्यालय तारानगरमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ६ कल्जुकीमा रहेको दीपज्योति प्राथमिक विद्यालयलाई राष्ट्रिय माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ।
वडा नम्बर १ डुडापारीमा रहेको जनप्रगतिशिल आधारभूत विद्यालयको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ८ दिपनगरमा रहेको मेलघट्टी माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ।
वडा नम्बर ९, गोदनीमा रहेको मोहन्याल आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ लाई तह घटाएर कालिका माविमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ९ रतिपुरमा रहेको शान्ति आधारभूत विद्यालयलाई वडा नम्बर ४ गणेशपुरमा रहेको सीताकुण्ड माविमा व्यवस्थापन गरिएको छ।
वडा नम्बर १० सिसैयामा रहेको दशरथ प्राविलाई अमर सहिद स्मृति आधारभूत विद्यालय लठैयामा समायोजन गरिएको छ। वडा नम्बर १२ खोपामा रहेको बाल प्राविको कक्षा ४ र ५ तह घटाएर नकफोडुवामा रहेको राष्ट्रिय माविमा व्यवस्थापन गरिएको छ।
वडा नम्बर १२ शिवपुर रहेको राजाराम प्राविलाई खोपास्थित बाल प्राविमा समायोजन गरिएको छ भने वडा नम्बर १२ वनवर्षामा रहेको शिव प्राविलाई नकफोडुवामा रहेको राष्ट्रिय माविमा समायोजन गरिएको छ। वडा नम्बर १० शिखरझाला रहेको सरस्वती माविको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ९, खल्लाखेतमा रहेको कालिका माविमा व्यवस्थापन गरिएको छ।
नगरपालिकाले विद्यालय समायोजन तथा कक्षा तह मिलान गरेपछि शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यार्थी संगठनहरुले विरोध जनाइरहेका छन्। दशरथ प्रावि व्यवस्थापन समितिकी अध्यक्ष रजीना चौधरीले छलफलनै नगरी नगरपालिकाले एकतर्फी ढंगबाट निर्णय गरेको बताइन्।
कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बमले पनि नगरपालिकाले अवैज्ञानिक तरिकाले विद्यालय समायोजन तथा तह मिलान गरेको आरोप लगाए।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी भने सबैको सहमतिबाट नै विद्यालय समायोजन तथा तह मिलान गरिएको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।