काठमाडौं- मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको भदौ २७ गते भीमरथारोहण (ज्याःजंक्व) हुने भएको छ।
तुलाधरको भीमरथारोहणबारे भइरहेको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले समितिको आग्रहमा शुक्रबारदेखि नै विभिन्न गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन गरिने बताए।
नागरिक अभिनन्दनको मूल कार्यक्रम भदौ ३० गते शनिबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना गरिने छ। यसका अतिरिक्त नेपालको मानव अधिकार आन्दोलन, पत्रकारिता र शान्ति प्रक्रियामा तुलाधरको भूमिका र योगदानबारे गोष्ठी तथा परिचर्चा कार्यक्रमको आयोजना गरिने छ। त्यसैगरी, नेपाल संवत् आन्दोलन, आदिवासी जनजाति आन्दोलन र नेवाः आन्दोलनमा उनको योगदानका विषयमा विचार गोष्ठी गरिनेछ भने उनको साहित्यिक व्यक्तित्वबारे पनि छलफल कार्यक्रम गरिनेछ।
नेवार समाजमा कुनै व्यक्तिको ७७ वर्ष ७ महिना ७ दिनका अवसरमा गरिने एउटा अत्यन्त महत्वपूर्ण धार्मिक सांस्कृतिक संस्कार ज्याःजंक्व हो। तुलाधरको धार्मिक विधिअनुसार ज्याःजंक्वको कार्यक्रम तय भएको हो।
भीमरथारोहण मनाउने सिलसिलामा आयोजना गरिने सबै कार्यक्रमहरूको संयोजन गर्न उद्योग व्यवसायी एवं समाजसेवी लक्ष्मीदास मानन्धरको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समिति’ गठन गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।