काठमाडौं– दोरम्बा हत्याकाण्ड भएको १५ वर्ष पूरा भएको छ। २०६० साल साउन ३१ गते तत्कालिन शाही नेपाली सेनाले रामेछापको दोरम्बामा २१ जना तत्कालीन नेकपा (माओवादी)का निःशस्त्र नेता कार्यकर्तालाई नियन्त्रणमा लिई डडुवाको डाँडाकटेरी भन्ने स्थानमा लगि सामूहिक हत्या गरेको थियो।
१२ वर्ष पहिले रामेछापको दोरम्वा बजारभन्दा केही तल स्थानीय शिक्षक युवराज मोक्तानको घरमा माओवादीका नेता कार्यकर्ताहरु आन्तरिक छलफलमा जुट्ने कुरा थाहा पाएपछि मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा करिब ८० जनाको संख्यामा गएको तत्कालीन शाही नेपाली सेनाले युवराजको घर घेरा हाली २१ जना नेता कार्यकर्तालाई कब्जामा लिएर निर्ममतापूर्वक हत्या गरेका थिए। गोली प्रहारपश्चात् सेनाले लाशलाई भीरबाट लडाइदिएका थिए।
तत्कालिन नेकपा माओवादीले उक्त घटनामा सहिद भएकाहरुको सम्झनामा श्रावण ३१ गतेलाई ‘दोरम्बा स्मृति दिवस’को रुपमा मनाउन थालेको थियो। तर दोरम्बा हत्याकाण्डको १५ वर्ष बितिसक्दा तत्कालिन नेकपा माओवादीका प्रमुख नेता तथा संस्थापन पक्षले भने सो घटना बिस्तारै बिर्सिन थालेको पीडितहरु गुनासो गर्छन्। मुल पार्टीले बिर्सिएपनि माओवादीका अन्य घटक तथा केही नेता कार्यकर्ताहरुले भने दोरम्बा हत्याकाण्डका सहिदहरुलाई सम्झिने गरेको पीडित मध्येका एक डिकबहादुर तमाङले बताए।
‘विगतमा उनीहरुले केही सामान्य कार्यक्रम गर्ने गरेका थिए तर यसपटक कार्यक्रम भएको कुनै संकेत देखिएन।’, पीडित तमाङले आक्रोशित हुँदै भने, ‘ नेताहरुलाई सत्तामा पुग्नु थियो त्यो पुुरा भएकै छ हामीलाई किन सम्झन परो।’
घटना घटेको लामो समय भइसक्दा तथा पार्टी पटक–पटक सरकारमा पुग्दा आफूहरुलाई वेवास्था गरेको उनीहरुको सामुहिक गुनासो छ।
‘सत्ता परिवर्तनका लागि परिवार गुमाएका हामीलाई न पार्टीले आफ्नो ठानेर व्यवहार गर्र्यो न त सरकारले नै हेर्यो’, उनले भने, ‘हामी पीडितहरु सधैँ आफ्ना मान्छे सम्झेर रोएर बसेका छौँ।’
हत्याकाण्ड भएको १५ बर्ष बितिसक्दा पनि नेतृत्व पंक्तिले हत्याकाण्डलाई वास्ता नगरी बिर्सिएजस्तो गरेको स्थानीय पूर्व माओवादीहरुको गुनासो छ।
तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) र सरकारी पक्षबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको अवस्थामा सेनाले दोरम्बामा आन्तरिक बैठक बसिरहेका निशस्त्र माओवादी नेता कार्यकर्ताहरुको हत्या गरेका थिए। सेनाले जिल्ला कमिटीको बैठकमा आक्रमण गरेपछि जिल्ला इञ्चार्ज हरि दाहाल ‘ललित’ सहित सेक्रेटरी मदन त्यसैगरी कार्यकर्ताहरु राजन, रामकुमार, उदय, मोहन, अमीर, सागर, मनोज लगायत ११ जना भने सेनाको घेरा तोडेर उम्कन सफल भएका थिए। दोरम्बा हत्याकाण्डपछि सरकार र तत्कालिन नेकपा माओवादीबीच चलिरहेको शान्तिवार्ता र युद्धविराम समेत विथोलिएर देश युद्धमा फर्किएको थियो।
२०६० सालमा युद्धविरामको बेलामा भएको दोरम्वा घटनाको विश्वभरी निन्दा भएको थियो। घटनामा संलग्न सेनाका मेजर राममणि पोखरेललाई कारबाही गर्न मानवअधिकार आयोगले सिफारिस पनि गरेको थियो। तर, १५ वर्षसम्म पनि उनलाई कारबाही हुन सकेको छैन।
पीडितहरुले राहत र क्षतिपूर्ति नपाएको भन्दै मानवअधिकार आयोगमा निवेदन समेत दिएका छन्। आयोगले पीडितहरुप्रति राज्यले घोर अन्याय गरेको ठहर गर्दै तत्काल उक्त घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपुर्ति दिन समेत सिफारिस गरेको थियो। उक्त सिफारिसको कार्यान्वयन गर्ने सन्दर्भमा जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक सरकारको नेतृत्वमा पुग्दा समेत उदासिन देखिए।
त्यतिबेला राष्ट्रिय मानवअधिकार आयोगको टोलीले शव उत्खनन गरि प्रतिवेदन समेत तयार गरेको थियो। उक्त प्रतिवेदनमा केही व्यक्तिलाई कारबाहीको सिफारिस समेत गरेको थियो। उक्त अनुसन्धान टोलीमा आयोगका तर्फबाट सुशील प्याकुरेल, कनकमणी दिक्षित, कृष्णजंग रायमाझी, पूर्व प्रधानन्यायाधिवक्ता प्रेमबहादुर विष्ट, डाक्टर हरिहर वस्ती र अधिवक्ता हरि फुयाँल दोरम्बा पुगेका थिए।
तर यसपटक साविकको नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरण गर्दै नेकपा भएपछि अध्यक्ष प्रचण्ड रामेछाप पुगेर सहिदको सम्मानमा कार्यक्रम राख्दै दोरम्वा घटनालाइ सम्झना गरेका छन्। सामान्य औपचारिक कार्यक्रम गरेर संझना गरिएकोमा पीडित पक्षले भने यसलाई प्रक्रिया पुरा गर्ने मेसोको रुपमा बुझेको बताए। घटनामा संलग्नलाई कारबाही नहुनु तथा सहिदका परिवारजनको अवस्था सुधार गर्न नेताहरुको ध्यान नजानुले सहिद परिवारमा नेताहरुप्रति गुनासो बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।