काठमाडौं– कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका निर्वाचित सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले फाइल मगाउने आदेश दिएको छ।
सो घटनामा आफू निर्दोष रहेको दावी गर्दै चौधरीले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले फाइल मगाउने आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलाशले जिल्ला अदालत कैलालीबाट चौधरीसँग सम्बन्धित फाइल मगाउन आदेश जारी गरेको हो।
बुधबार मात्रै जिल्ला अदालत कैलालीमा उनी बाहेक अन्य आरोपितहरुको पहिलो सुनुवाइसमेत भएको थियो। जिल्ला अदालतले उनीहरुको मुद्दामा साक्षी झिकाउने आदेश जारी गरेको थियो।
३ वर्षदेखि फरार रहेका चौधरीले जिल्ला अदालत कैलालीसामु आत्मसमर्पण गरेका थिए। जिल्ला अदालतले उनको मुद्दामा सुनुवाई गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो।
कैलालीको टीकापुरमा २०७२ भदौ २७ मा भएको हिंसामा एसएसपीसहित ७ प्रहरी र एक बालकको हत्या भएको घटनामा संलग्न चौधरी फरार अभियुक्त हुन्। प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा राजपाको तर्फबाट निर्वाचित भएका उनी प्रहरीको फरार सूचीमा थिए। उनले वियजीको प्रमाणपत्र समेत पाएका छैनन्। चौधरीले २० हजारभन्दा बढी मतान्तरसहित एमालेकी मदनकुमारी शाहलाई पराजित गरेका थिए।
घटनाका मुख्य योजनाकार मानिएका चौधरीले फागुन १४ मा कैलाली जिल्ला अदालतसामु आत्मसमर्पण गरेका थिए। अदालतले उनलाई थुनामा राख्ने आदेश दिएपछि उनी अनशन बसेका थिए। कैलालीमै अनशन सुरु गरेका चौधरीको स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उपचारका लागि काठमाडौंको वीर अस्पताल ल्याइएको थियो।
अनशन तोडाउँदै गृहमन्त्री रामबहादुर थापाले मुद्दा र अदालती विषय बाहेक अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। चौधरीले टीकापुर घटनाका दोषीलाई कारबाही हुनुपर्ने पक्षमा रहेको स्पष्ट पार्दै घटनाका बेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।