राजविराज– समाजको दबाव थेग्न नसकेर विवाह बन्धनमा बाँधिएको २४ घण्टा बित्न नपाउँदै सप्तरीमा एक युवकले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन्।
परिवारको सहमतिबिना विवाह गरेको भन्दै बाबु–आमाले बेहुलीलाई घरमा भित्र्याउन नदिएपछि तनावमा आएर राजविराज नगरपालिका–४ का २४ वर्षीय जुनेद अस्गरले विष सेवन गरेका हुन्।
उनी बिहीबार बिहान राजविराज–१ स्थित राजदेवी मन्दिर सडकखण्डमा बेहोस अवस्थामा फेला परेका थिए। सिकिस्त अवस्थामा रहेका जुनेदको स्थानीय सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनले बुधबार मात्रै स्थानीय नुरी जामा मस्जिदमा वडा नं. ४ कै २२ वर्षीया मर्जिना खातुनसँग विवाह गरेका थिए।
५ दिनअघि शंकास्पद अवस्थामा फेला परेपछि गाउँमा बसेको पञ्चायतको दबावमा दुवैको विवाह भएको थियो। वडा अध्यक्ष मो. अख्तर बाबा सिद्धिकी, नेविसंघका पूर्व सहमहामन्त्री इर्साद अन्सारी लगायतका व्यक्तिहरु सहभागी रहेको पञ्चायतले दुवैले विवाह गर्नुपर्ने निर्णय सुनाएको स्थानीयहरु बताउँछन्।
दबाव दिएर विवाह गराएको र केटीको सुरक्षाका लागि भन्दै मोहरदेन (धरौटी सरह) १ लाख ७ हजार रुपैयाँको लिखित कागजसमेत बनाएपछि तनावमा जुनेदले आत्महत्याको प्रयास गरेको उनीहरुको आरोप छ।
जुनेदका पिता जवाद अहमदले केटी पक्षले निकाह (विवाह) कवोल गरेपनि आफूहरुलाई अस्विकार्य भएको बताए। ‘डरत्रास देखाई जबरजस्ती निकाह गराइनु अन्याय हो’, उनले भने,‘त्यही तनावमा आएर छोराले विष सेवन गरेको छ, यसका विरुद्ध कानुनी उपचार खोज्छु।’ केटीको परिवारले आफ्नो परिवारलाई जबरजस्ती फसाइएको आरोप लगाउँदै घटनाको यथार्थ छानविन गर्न उनले माग गरे।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।