काठमाडौं– एक महिना अघि दुई किशोरले काठमाडौंका विभिन्न स्थानमा करिब १३ लाख रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी गरे।
उनीहरु विरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा तीन वटा चोरी मुद्दा समेत दर्ता गर्यो। १६ वर्ष र सोभन्दा कम उमेरका ती दुई किशोरमाथि लगाइएका मुद्दाको आज सुनुवाइ भएको छ।
उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै जिल्ला अदालतले विभिन्न स्थानमा पटके चोरी मार्फत करिब १० लाख रुपैयाँ बराबर चोरी गर्ने कार्यमा संलग्न एक नाबालकलाई बालसुधार गृहमा पठाउन आदेश दिएको छ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलाशले विभिन्न स्थानमा चोरीमा संलग्न भएका प्रशान्त अधिकारी १५ वर्ष ३ महिना मात्र उमेर भएको भन्दै मुलुकी ऐन, १२४ नं. बमोजिम सुधार गृहमा पठाउने आदेश जारी गरेको हो।
अर्का प्रतिवादी सुदिप गुरुङलाई भने ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। गुरुङको उमेर १६ वर्ष पुगेको भन्दै उनलाई धरौटी माग गर्ने आदेश जिल्ला अदालतले दिएको हो।
बरामदी मुचुल्कामा उल्लिखित चोरीका समानहरु उनीहरुले नयाँ बसपार्कस्थित पवित्रा प्यालेस गेष्ट हाउसको दोस्रो तलाको २०४ नं. कोठामा राख्ने गरेको खुलेको छ। उनीहरुले १२ लाख २५ हजार २ सय ८ रुपैयाँ बराबरको चोरी गरेको पाइएको छ।
के–के थिए चोरीका सामान?
३० लाल जन्तर, सुनजस्तो देखिने क्रिस्टलसहितको १ तोला ३८ लालको मङ्गलसुत्र, सुनजस्तो देखिने १ तोला ३८ लालको हार, सुनजस्तो देखिने १ तोलाको छड्के तिलहरी, सुनजस्तो देखिने पत्थरसहितको १ तोला ४० लालको औँठी तीन थान , सुनको जस्तो देखिने गणेशको मुगासहितको औँठी, सुनजस्तो देखिने झुम्का १ तोला ६४ लालको २ जोर, सुनजस्तो देखिने १५ लालको मसिनो सिक्री, सुनजस्तो देखिने धातुको माला १ तोला २१ लालको, सुनजस्तो देखिने १३ लालको टप, सुनजस्तो देखिने नाकमा लगाउने फुली २ थान, सुनजस्तो देखिने धातुको २८ लालको सिक्री, सुनजस्तो देखिने १ तोला ५१ लालको ब्रास्लेट, चाँदीको बाला ३ तोला ६६ लालको ३ थान, चाँदीका बिछिया ६३ लालको ५ थान, पत्थरसहित ९० लाल भएको चाँदीको औँठी, घडी, चाँदीको पाउजू ३ तोला ७८ लालको चोरी गरेको पाइएको थियो।
२०७५ साउन ५ गते लेडिज औँठी, बिना रसायनको औँठी, पिञ्जडा टप एकजोडी, फूल औँठी, कुटी औँठी, कालो क्रिस्टल भएको मङ्गलसुत्र, नेकलेस, छड्के तिलहरी, ब्रास्लेट, रामलिला झुम्का, सुनको जन्तर, चाँदीको कल्ली, चाँदीको बाला, चाँदीको जेन्स औँठीसमेत उनीहरुले चोरी गरेको प्रहरीले छापा मारी पक्राउ गर्दा खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।