रसुवा– रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला बिहीबारदेखि सुरु भएको छ। हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको हो।
साउन ३१ गते देखि भदौ १० गते जनैपूर्णिमाको दिनसम्म लाग्ने गोसाइँकुण्ड मेलामा यो वर्ष १५ हजारले मेला भर्ने अनुमान गरिएको छ भने १५ करोडको कारोबार हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले अनुमान गरेको छ। त्यस्तै मेला अवधिभर यात्रुहरुको सहजताका लागि ९ वटा उपसमिति गठन गरी आवश्यक तयारीसमेत गरिएको छ।
मेला अवधिभर गोसाइँकुण्ड क्षेत्रमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा प्रवन्ध गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। मेला भर्न आउने तिर्थयात्रीका लागी गोसाइँकुण्ड पदमार्गमा होटल तथा टहराको व्यवस्था मिलाइएको छ। स्थानअनुसार खाना र बासका लागी दर रेटसमेत तोकिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिब डिएमले बताए।
‘गत वर्ष जस्तै यो वर्ष पनि सहज रुपमा मेला भर्नका लागि ठाउँ–ठाउँमा स्वास्थ्य शिविर राखेका छौँ। होटल तथा टहराहरुमा दररेट निर्धारण गरेका छौँ।’, उनले भने,‘ तोकिएको दररेटभन्दा बढी नदिन समेत सबै भक्तजनहरुलाई आग्रह गर्दछौँ।’
दुई दिनको उकालो बाटोमा लेक लाग्ने लगायतका समस्याहरु हुने भएकाले मेला अवधिभर मिनी गोसाइँकुण्डदेखि गोसाइँकुण्डसम्मको ६ स्थानमा स्वास्थ्य क्याम्प राखिने भएको छ। हिमालय उद्धार संघले गोसाइँकुण्ड, सक्षम नेपाल र नेपाल रेडक्रस सोसाइटीले बुद्ध मन्दिर, लौरीबिनामा पाटन स्वास्थ्य विज्ञान, मिनी गोसाइँकुण्डमा जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाली सेनाको कालिजंग गणले चन्दनबारी र चोलाङपाटीमा स्वास्थ्य क्याम राख्ने बताइएको छ। त्यस्तै तीर्थयात्रीलाई यात्रामा सहजीकरण गर्नका लागि विभिन्न संघसंस्थाले स्वंयमसेवक परिचालन गर्ने पनि बताइएको छ।
गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चार वटा पदमार्ग सञ्चालनमा छन्। गोसाइँकुण्ड जाने तीर्थयात्रीमध्ये करिब ९० प्रतिशत धुन्चे–गोसाइँकुण्ड पदमार्ग भएर जाने गर्दछन्। धुन्चेदेखि गोसाइँकुण्ड जाने बाटो सुरक्षित रहेको हुदाँ निर्धक्क यात्रा गर्न सबै यात्रुमा गोसाइँकुण्ड क्षेत्र विकास समितिले आग्रह गरेको छ।
पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किम्मदन्ति रहेको पाइन्छ।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चिताएको सबै मनोकांक्षाहरु पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौैं भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन्।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाइँकुण्ड मेलाको अवसरमा स्वदेश तथा विदेशबाट वर्षेनी हजारौं तिर्थयात्री आउने गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुण्डमा १ सय ८ कुण्ड रहेको र ती कुण्डमा स्नान गर्नका लागि वर्षेनी हजारौंको सङख्यामा तिर्थालु भक्तजनहरू आउने गरेका छन्। समुन्द्रि सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचीमा समेत सूचिकृत छ। समुन्द्रि सतहदेखि ४ हजार ३ सय ८० मीटरको उचाईमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।